पाँचौ चरणमा ७१ परिवारलाई बांडिन नेकपा सांसद रोकाले राहत



काठमाडौं २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की रुकुम (पूर्व) की प्रतिनिधिसभाकी सांसद कमला रोकाले पाँचौ चरणको राहत वितरण गरेकी छिन् । उनले आफ्नो जिल्लाबाट काठमाडौं आएर बसेका नागरिकलाई हिजो राहतस्वरुप चामल वितरण गरेको जनाएकी छिन् ।

कोरोना भाइरसको त्रासका कारण लकडाउनले मानिस पीडित भएको बेला उनले विभिन्न व्यक्ति र संस्थासँग समन्वय गरी राहत बाँड्दै आएकी छिन् । मानिसले खान पाइरहेका छैनन्, रोगले भन्दा पनि भोकले मानिसको ज्यान जाने भएकाले पनि आफ्नो कर्तव्य पालन गरेको उनले बताइन् । उनले कीर्तिपुरको मच्छेगाउँ र चन्द्रागिरी नगरपालिकाको मातातिर्थ पुगेर ७१ परिवारलाई राहत उपलव्ध गराएकी हुन् । उनको यो अभियानलाई चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेकबिक्रम शाहले ३० बोरा चामल, अमेरिकामा रहेका अभय श्रेष्ठले ७ बोरा चामल र सामाजिक अभियन्ता तथा युवा नेता प्रदीप परियारले १० बोरा चामल उपलब्ध गराएका थिए ।
शाह रुकुम पश्चिम निवासी हुन् । पूर्वमन्त्री र नेकपाको केन्द्रीय सदस्य समेत रहेकी रोकाले राहत वितरणका लागि सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरेकी छिन् । उनले आगामी दिनमा पनि यस प्रकारका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । यसअघि आफ्नो तर्फबाट रअरुको सहयोगबाट नै गोलढुंगा, रानीबन, कीर्तिपुर पुगेर राहत वितरण गरेकी थिइन् । त्यसैगरी बाफल काठमाडौका समाजसेवी ताराबहादुर कुवरको सहयोगमा ३३ परिवारलाई पनि राहत बाँडिएको थियो, जसको लागि सांसद रोकाले नै समन्वय गरेकी थिइन् ।

सांसद रोकाले राहत वितरण गर्दा राहत पाउनेहरु निकै खुशी भएका थिए । उनीहरुले यो असहज अवस्थामा दिएको राहतले आफ्नो जीवनयापनमा सहज भएको भन्दै सांसदको सहयोगको प्रशंसा गरेका थिए । रुकुम पूर्वमा एकमात्र निर्वाचन क्षेत्र रहेको छ । जिल्लामा कोरोना संक्रमित देखिएपछि उनले स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रीय सरकारसँग पहल समेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्