कविता



कफन

-योगेश राल्फाली

साथी, कामरेड १
हामी छुटेर पनि
दशक कटिसकेछ
काँधको बन्दुक
झोलाको बम गोला
कम्मरको खुकुरी
मनभरीको आस्था
तनभरीको बिचार
गरुँङ्गो सपना
शिरको कफन
कृतिम नदिमा सेलाएर
शहर छिर्‍यौ तिमी
र त हामी छुटेर
लामो समय बित्यो
बित्दै गरेको समयमा
धेरै अन्तर भएछ
तिमी र ममा
समय परिवर्तन गर्न
व्यवस्था परिवर्तन गर्न
एकसाथ घर छाडेका हामी
जति गाह्रो छ समय फेर्न
त्यति नै सजिलो हुँदो हो
मान्छे परिवर्तन हुन
त्यसैले त
लक्ष एउटै
यात्रा एउटै
सपना एउटै
बोकेका हामी
तिम्रो सपना परिवर्तनसँगै
हाम्रो भेट टाढिएको ।
अस्तिको चुनावमा
गाडीमा सयेर भएर
बढो सानका साथ
गाउँ छिरेको तिमी
मुश्किल भो चिन्न
मञ्चमा आमन्त्रण पछि पो
बल्ल चिनें
जब मैले गाएको थिएँ
त्यहि बेला
एउटा आजादीको गीत
तिमीले पनि चिन्यौ मलाई
मुश्किल थिएन मलाई चिन्न
उहीँ कफन
उहीँ पहिरनमा
मलाई देखेर
अचम्मित भयौ होला तिमी
खौर, जे होस ।
त्यहि मञ्चमा
तिमीले थमाएका थियौ
कागजको खेस्रा
हो, त्यहि खेस्रामा लेखिएको
ठेगाना र नम्बर मुताविक
तिमीलाई भेट्न
शहर छिरें
घरहरुको जंगलभित्र
बढो मुश्किलले
पत्ता लगाएँ
तिम्रो आलिसान महल ।
हिजो तिमीले जसलाई
दुश्मन भन्थ्यौ
तर हाम्रो दुश्मन उनिहरुसँग हैन
राज्यसत्तासँग भन्थें म
उसैको पहरा राखेर
आसिन रहेछौ
महलभित्र कताकता
तिमीलाई भेट्न
गेटमा तीन पुस्ते लेखाउने
गेटको कलमको मसी सक्नु
र आजै मेरो साथमा
कलम छुट्नु
संयोग मिलेछ
म कलम किन्ने बहानामा
चप्पलको धुलो
यथावत बोक्दै
बाहिर निस्कें
र एकपटक
तिम्रो आलिसान महलमा
आखा डुलाउन आकाश फर्कें
दुर्भाग्य १
तिमी र मैले एकसाथ बाँधेको
मेरो टाउकोको कफन
झर्‍यो भूईंमा
तिम्रो महलको तला गन्दा
झरेको कफन टिपेर
फर्कें म गेटैबाट
भन, कामरेड १
अब म के जवाफ दिउँ
तिम्रो बारेमा
जो गिठ्ठा भ्याकुरमा दिन कटाउने
ती दिन दुःखीहरुलाई
जसलाई हामीले
बाँढेका थियौं सपना
एउटा सुन्दर आजादीको ।

( धन्यवाद

प्रतिक्रिया दिनुहोस्