अतिक्रमित भुमि समेटेर नयाँ नक्सा सार्बजनिक गर्न संबिधान बाधक !
काठमाडौँ, ५ जेठ। दक्षिणी छिमेकी मुलुक भारतद्वारा अतिक्रमित नेपाली भुमि लिपुलेक,लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेत समेटेर नयां नक्सा सार्बजनिक गर्ने तयारीमा संबिधान बाधक देखिएको छ।
भुमी ब्यबस्था तथा गरिबी निबारण मन्त्री पद्मा अर्यालको प्रस्तावमा आइतबारकै मन्त्रीपरिषद बैठकले नयाँ नक्सा जारी गर्ने तयारी भएपनि संघीय नेपालको संबिधानका कारण रोकिएको वरिष्ठ पत्रकार एबं प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी गराउनु भएको छ। सामाजिक संजाल फेसबुकमार्फत श्रेष्ठले दिनुभएको जानकारी अनुसार नेपालको सँविधानको धारा( ९),अनुसूची (३)मा प्रकाशित देशको निशान छापमै पुरानो नक्सा खोपिएको र त्यसलाई परिवर्तन गर्न सँसदको दुई तिहाइ बहुमतले संविधान फेर्नुपर्ने हुँदा प्राविधिक कारणबस आइतबार सम्पन्न क्याबिनेट बैठकबाट नयाँ नक्सा जारी हुन नसकेको हो। सबैको सहमतिमा छिट्टै नयाँ नक्सा सार्वजनिक गर्ने तयारी रहेको समेत वंहाले सामाजिक सन्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ।
अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभागसमेत समेटिएको नेपालको नयाँ नक्सा भूमि व्यवस्था मन्त्रालयले तयार गरेको र आइतबारकै मन्त्रिपरिषद बैठकले सो नक्सा जारी गर्ने बताइएको थियो।
भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जाने सडक उद्घाटन गरेपछि अतिक्रमित भूमिबारे फेरि बहस सुरु भएको हो । यसअघि भारतले नेपाली भूमिसमेत समेटेर नयाँ नक्सा जारी गरेको थियो । सत्तारुढ नेकपाको सचिवालय बैठकले सरकारलाई नयाँ नक्सा जारी गर्न सल्लाह दिएको थियो । यसअघि तीन संसदीय समितिले पनि नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएका थिए ।
