आजदेखि चारदिने छठ पर्व सुरु



महोत्तरी,२७ कार्तिक । दीपावली सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि चारदिने छठ पर्व सुरु भएको छ। पर्वको सुरुवातसँगै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ।

आस्था, निष्ठा र भक्तिको प्रतीक मानिने छठको स्वागतमा घरघरमा सूर्यदेव र छठीमाता (षष्ठीदेवी) का भक्तिगीत गुञ्जिन थालेसँगै मिथिलाको वातावरण छठमय बनेको छ।

पर्वका लागि स्थानीयवासी, विशेषगरी युवाहरू नदीकिनार, पोखरी तथा जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन्। घरका भित्ता लिपपोत र रङरोगन गरिएका छन् भने सडक तथा सार्वजनिक स्थल झिलिमिली बत्तीले सजाइएका छन्।

बर्दिबास-१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले स्थानीयको भेटघाटदेखि घरायसी कामकाजसमेत छठकै तयारीमा केन्द्रित भएको बताए।

छठको रौनकसँगै बजारमा पूजासामग्री किन्नेको भीड लागेको छ । केराका घरीसहित उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा र ज्यामिरलगायतका सामग्रीको किनबेच बाक्लिएको छ।

जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले यस्ता कृषि उपज तथा पूजासामग्रीको मुख्य व्यापार शनिबार हुने जानकारी दिए।

त्यसैगरी, पूजामा नयाँ भाँडा प्रयोग गर्ने परम्पराका कारण साप्ताहिक हाटबजारमा बाँस र माटाका सामग्रीको माग उच्च छ।

बाँसका चोयाबाट बनेका ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो, पङ्खा तथा माटाका दियो, छ्याँची, टौला, अङ्खरा र गाग्रीको बिक्री उल्लेखनीय रूपमा बढेको छ।

यतिखेर घरघरमा ठकुवा र भुसुवालगायतका प्रसाद तयार गर्न गृहिणीहरू व्यस्त छन्। शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा परिवारका सदस्यको सहयोगमा ढिकी र जाँतोमा चामल तथा गहुँ पिँधेर पिठो तयार गर्ने परम्परा अझै कायम छ।

भङ्गाहा-४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले छठको तयारीमा निष्ठा र शुद्धता नै सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताइन्।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चल्ने छठको पहिलो दिन आज ‘नहाय–खाय’ विधि गरिँदै छ। दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि पर्व विधिवत् सम्पन्न हुन्छ।

छठघाटमा जातीय तथा सामुदायिक विभेदबिना एउटै लहरमा बसेर सूर्यदेवको आराधना गर्ने परम्परा छ। पुराना मनमुटाव बिर्सेर मनाइने यस पर्वले मानिसलाई विनम्र र सहयोगी बनाउनुका साथै सबैको मङ्गल र कल्याण गर्ने जनविश्वास रहिआएको छ।

प्रतिक्रिया दिनुहोस्