नेपाल–पाकिस्तान सहकार्यबाट स्टार्टअप र प्रविधिमा नयाँ अवसर सिर्जना गर्न सकिन्छ : पाकिस्तानी राजदूत खान



पोखरा,२१ कार्तिक । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले नेपाल र पाकिस्तानबीचको सहकार्यबाट स्टार्टअप, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सकिने बताएका छन् ।

पोखरामा आयोजित ‘स्टार्टअप समिट नेपाल २०२६’ लाई सम्बोधन गर्दै राजदूत खानले युवाहरूको भविष्य स्टार्टअप, प्रविधि र नवप्रवर्तनसँग जोडिएको उल्लेख गरे । युवाहरूले आफ्ना नयाँ विचारलाई व्यावसायिक स्वरूप दिन सके आफ्नै देशमा प्रशस्त अवसर सिर्जना गर्न सक्ने उनको भनाइ थियो ।

प्रविधिको विकाससँगै उद्यमशीलताका नयाँ सम्भावना विस्तार भइरहेको बताउँदै उनले युवाहरूलाई सिर्जनशीलता, नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगलाई प्राथमिकता दिन आग्रह गरे ।

पाकिस्तानले पनि स्टार्टअप तथा प्रविधिमा आधारित उद्यम विकासमा अनुभव हासिल गरेको उल्लेख गर्दै राजदूत खानले उक्त अनुभव नेपालसँग आदानप्रदान गर्न सके दुवै देशका युवाका लागि उद्यमशीलताका नयाँ ढोका खुल्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार अहिलेको प्रतिस्पर्धात्मक विश्वमा परम्परागत सोच र व्यावसायिक शैलीबाट मात्रै व्यवसायलाई अगाडि बढाउन सम्भव छैन । नयाँ प्रविधि र सिर्जनशील अवधारणालाई बजारको आवश्यकतासँग जोड्न सके युवा उद्यमीहरूले ठूलो सम्भावना हासिल गर्न सक्नेछन् ।

राजदूत खानले युवा पुस्तालाई उद्यमशीलताप्रति प्रेरित गर्ने र नयाँ व्यावसायिक अवसरको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको स्टार्टअप समिट नेपाल अभियानमा पाकिस्तानी दूतावासले समेत सहकार्य गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्