मानसिक सन्तुलन गुमाएका ब्यक्तिको ढुङ्गा प्रहारबाट रुकुम पश्चिममा ६ वर्षीय बालकको मृत्यु



रुकुम पश्चिम,७ कार्तिक । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२, स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ५:३० बजे घरनजिकै बाटोमा खेलिरहेका बाफिकोट गाउँपालिका–२, स्वारा निवासी बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथमाथि सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि ढुङ्गा प्रहार गरेको बताइएको छ।

टाउकोमा ढुङ्गा लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि सुरुमा स्वास्थ्य चौकी पिपल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइएको थियो।

जिल्ला अस्पताल सल्लेमा उपचारकै क्रममा शुक्रबार राति करिब १० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक विवरणअनुसार उनको मानसिक अवस्था ठीक नभएको बताइएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्