कांग्रेस इतर समूहलाई तरुण दलले दियो स्वार्थ समूहको संज्ञा, भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन



काठमाडौं,१८ साउन । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले कुनै पनि व्यक्ति वा स्वार्थ समूहको भेलामा नजान निर्देशन दिएको छ । सोमबार तरुण दलका अध्यक्ष मनिष कोइरालाले एक सूचना जारी गर्दै भेला वा सभाहरूमा सहभागी भए कारबाही गर्ने चेतावनी दिएका हुन् ।

नेपाली कांग्रेसको विवादका बीच इतर समूहले साउन २९ मा राष्ट्रिय भेला आयोजना गरेको छ । त्योभन्दा अगाडि देश जोडौँ अभियानको नाममा कांग्रेसले बुधबार अर्को भेला गर्दै छ ।

यी दुवै भेलामा देशै भरबाट सबै संगठनका नेता कार्यकर्ता सहभागी हुने दाबी गरिएको छ । सोही दाबीका बीच तरुण दलले आफ्ना कार्यकर्ताहरूलाई सहभागी नहुन निर्देशन दिएको हो ।

“कुनै व्यक्ति वा स्वार्थ समूहद्वारा आयोजना गरिने भेला वा सभाहरूमा सहभागी नहुन तरुण साथीहरूलगायत सम्बद्ध सबैमा आग्रह गरिन्छ । यदि कसैले अनुशासनविपरितका कार्यहरू गरे वा गराएमा दल त्यस्ता व्यक्तिहरूमाथि आवश्यक कारबाही गर्न बाध्य हुने व्योहोरा सबैमा जानकारी गराइन्छ,” सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्