दुर्गा प्रसाईको पक्राउप्रति डा. धवलशमशेर राणाको आपत्ति, तत्काल रिहाइ गर्न माग



काठमाडौं,१८ साउन । राष्ट्रवादी नेता दुर्गा प्रसाईलाई सरकारले पक्राउ गरेकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्बमहामन्त्री डा. धवलशमशेर राणाले आपत्ति जनाएका छन्। राणाले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेकै आधारमा प्रसाईलाई पक्राउ गर्नु निन्दनीय भएको भन्दै तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।

राणाले जारी गरेको प्रेस विज्ञप्तिमा आलोचना, फरक मत तथा मत–अभिमत लोकतान्त्रिक पद्धतिका आधारस्तम्भ भएको उल्लेख गर्दै सरकार नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन्। विचार तथा अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार मात्र नभई प्रजातान्त्रिक सन्तुलन र समाजको उन्नति–प्रगतिका लागि समेत आवश्यक रहेको उनको भनाइ छ।‘सरकारको आलोचना गर्नै नपाइने हो भने त्यस्तो शासन प्रणाली लोकतान्त्रिक रहन सक्दैन’ भन्ने धारणा राख्दै राणाले लोकतन्त्रमा सरकारका कामकारबाहीमाथि प्रश्न उठाउने र आलोचना गर्ने अधिकार नागरिकलाई सुरक्षित हुनुपर्ने बताएका छन्।

देशका विभिन्न भूभागमा पछिल्ला दिनमा देखिएका द्वन्द्व, झडप, आगजनी तथा जनधनको क्षतिप्रति समेत उनले चिन्ता व्यक्त गरेका छन्। विविध आस्था, धर्म, संस्कृति र परम्पराबीचको सद्भाव, सम्मान र मिलन नेपाली समाजको मौलिक चरित्र भएको उल्लेख गर्दै सामाजिक सहिष्णुता र सद्भावको विरासत जोगाउनु सबैको साझा दायित्व भएको उनले बताएका छन्।
संवेदनशील अवस्थामा नागरिकको जिउधनको सुरक्षा, दिगो शान्ति तथा सरकारको जवाफदेहिताका लागि पहरेदारी गर्नु नागरिकको कर्तव्य भएको राणाको भनाइ छ। नागरिकले आफ्ना धारणा राख्न पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्।

यही सन्दर्भमा विश्वव्यापी रूपमा स्थापित मानव अधिकार तथा नेपालको संविधानले प्रत्याभूत गरेको विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण प्रसाईलाई पक्राउ गरिएको भन्दै राणाले त्यसप्रति गम्भीर आपत्ति जनाएका हुन्।प्रसाईलाई प्रहरीले आइतबार राति उनको निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्