राष्ट्रिय भेलाका लागि कांग्रेस इतर पक्षले गठन गर्यो शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति
काठमाडौं,१६ साउन । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ । शनिबार (साउन १६) समूहको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न उक्त समिति र त्यसनिम्ति आवश्यक अरू विभिन्न उपसमितिको घोषणा गरिएको हो ।

आयोजक समितिमा पार्टीका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारीहरू, महानगर तथा नगर सभापतिहरू समावेश गरिएको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
यस्तै, संघीय तथा प्रदेश सांसदहरू, पूर्वमन्त्रीहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरूलाई पनि मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा समेटिएको छ ।
राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न १६ विषयगत समिति समेत गठन गरिएको छ । यसमा राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति छन् ।
व्यवस्थापकीय जिम्मेवारीका लागि प्रचारप्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन र स्वास्थ्यलगायत समितिहरू निर्माण गरिएको छ ।
शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापन समितिलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ ।
विषयगत समितिहरूको नेतृत्व र सदस्यको चयन इतरपक्षको केन्द्रीय कार्यसमितिको बैठकबाट यथाशीघ्र टुंगो लगाइने विश्वकर्माले बताए ।

