सामाजिक सद्भाव बिथोल्न र साम्प्रदायिक हिंसा भड्काउन खोज्ने तत्वप्रति सचेत रहन कांग्रेसको अपिल
काठमाडौं,१३ साउन । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई दृष्टिगत गर्दै सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन आफ्ना नेता,कार्यकर्ता तथा सदस्यलाई कडा निर्देशन दिएको छ ।

बुधबार पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा कांग्रेसले घटनाको तत्काल निष्पक्ष,स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग पुन: माग गरेको छ ।
कांग्रेसले पछिल्लो समय देखिएका सुरक्षा चुनौतीले सरकार देश र नागरिकको सुरक्षा संवेदनशीलताप्रति पर्याप्त सजग नरहेको आभास दिएको उल्लेख गर्दै सामान्य विवादमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्ने र घटनाको जिम्मेवारी पनि सरकारले लिनुपर्ने जनाएको छ ।
विज्ञप्तिमा अहिलेको परिस्थितिमा थप हिंसा र क्षति हुन नदिन धैर्य, संयम र संवादको बाटो अपनाउन सबै पक्षलाई आग्रह गरिएको छ । धमिलो पानीमा माछा मार्ने उद्देश्यले सामाजिक सद्भाव बिथोल्न र साम्प्रदायिक हिंसा भड्काउन खोज्ने तत्वप्रति सचेत रहन तथा अफवाह र उत्तेजनाबाट प्रभावित नहुन कांग्रेसले सबैलाई अपिल गरेको छ ।
कांग्रेसले पार्टीका सबै समिति, नेता र सदस्यलाई पीडित परिवारलाई सहयोग गर्न, घाइतेहरूको उपचारमा सक्रिय हुन तथा सामाजिक सद्भाव कायम राख्न भूमिका खेल्न निर्देशन दिएको छ । सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि गतिविधिमा संलग्न भए पार्टी विधानबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ ।

