नेपाली कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको निधन,बुधबार अन्त्येष्टि गरिने



काठमाडौं,१२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेता श्रेष्ठको आज ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा निधन भएको हो। विगत एक वर्षदेखि क्यान्सरबाट पीडित नेता श्रेष्ठ केही समयदेखि सोही अस्पतालमा उपचाररत थिए।

श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।

श्रेष्ठलाई हालै कांग्रेसले वरिष्ठ नेता बनाएको थियो। श्रेष्ठले पार्टीमा गरेको योगदानअनुसार सम्मानसहित उनलाई वरिष्ठ नेता बनाइएको थियो। श्रेष्ठ स्याङ्जाबाट पटक पटक सांसद निर्वाचित भएका थिए। उनी भौतिक योजना, वन, उद्योग, शिक्षालगायत मन्त्रीसमेत थिए। उनी विभिन्न समयमा गरी ५ वर्ष जेलसमेत परेका थिए।

प्रतिक्रिया दिनुहोस्