राप्रपा सांसद शाहीले सम्झाए – ‘ आफ्नी वृद्ध आमालाई डोकोमा बोकेर भीरबाट फाल्न लैजाँदै गरेको छोरोको कथा’
काठमाडौं,११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागढुंगा सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको विषयलाई लिएर टिप्पणी गर्दै इतिहास मेटाउने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शाहीले उक्त घटनामा दुःख मान्नुपर्ने कुनै कारण नरहेको उल्लेख गरेका छन्। उनले विगतमा राजसंस्थासँग जोडिएका इतिहास,संरचना तथा राजमार्गहरूको नाम परिवर्तन गर्दै इतिहास मेटाउने प्रयास गरिएको दाबी गर्दै अहिले त्यही प्रवृत्तिको पुनरावृत्ति भएको टिप्पणी गरेका छन्।
शाहीले आफ्नो धारणा स्पष्ट पार्न एउटा पुरानो कथा पनि उद्धृत गरेका छन्। कथाअनुसार एक व्यक्तिले आफ्नी वृद्ध आमालाई डोकोमा बोकेर भीरबाट फाल्न लैजाँदा उसको सानो छोराले “त्यो डोको नफाल्नुहोस्, तपाईं बूढो भएपछि तपाईंलाई फाल्न पनि यही काम लाग्छ” भनेको प्रसंग उल्लेख गर्दै उनले इतिहास मेटाउने कार्य अन्ततः त्यसैको सुरुवात गर्नेहरूकै विरुद्ध फर्किन सक्ने सन्देश दिएका छन्।
उनले “आज अरूको इतिहास मेटाउने पालो तपाईंको होला, तर भोलि तपाईंको इतिहास मेटाउने अर्को कोही तयार भएर बसेको हुन सक्छ” भन्दै इतिहास र योगदानलाई राजनीतिक आग्रहका आधारमा मेटाउने प्रवृत्तिबाट सबै पक्ष सचेत हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

