सुनसरीका पाँच बजार क्षेत्रमा कर्फ्यु आदेश जारी
इनरुवा,११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

दुई समूहबीचको झडप नियन्त्रणा क्रममा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको हो ।राति भएको झडपमा प्रहरी र प्रदर्शनकारीसहित १६ जना भन्दा बढी घाइते भएको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।
दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा गोली लागेर ८ जना सर्वसाधारण पनि घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपमा घाइते भएका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राईको टाउकोमा चोट लागेको छ । प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका हुन् ।
यसैबीच,झडप नियन्त्रणको प्रयास स्वरुप जिल्ला प्रशासन कार्यालय, सुनसरीले जिल्लाको पाँच संवेदनशील बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
यसैबीच,प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार साउन ११ गते बिहान ७:०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो।
आदेशअनुसार तोकिएका क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैन। प्रशासनले आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ।
प्रशासनले हरिनगर गाउँपालिका अन्तर्गतको घुस्की, भुटाहा, कप्तानगञ्ज, पर्साही र देवागञ्ज बजार क्षेत्र मा कर्फ्यु लागू गरेको जनाएको छ। प्रत्येक क्षेत्रको चार किल्लासमेत आदेशमा स्पष्ट रूपमा उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाको शान्ति–सुरक्षा, सार्वजनिक सुव्यवस्था तथा सम्भावित अप्रिय घटना नियन्त्रणका लागि कर्फ्यु जारी गर्नुपरेको जनाएको छ। साथै सर्वसाधारणलाई प्रशासनको आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ।

