एसिया र युरोप महादेशका देशहरूमा घुम्न लैजाने भन्दै अनलाइन ठगी गर्ने दुई जना पक्राउ
कास्की,९ साउन । पोखरामा एसिया र युरोप महादेशका देशहरूमा घुम्न लैजाने भन्दै अनलाइन स्क्याम गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले शुक्रबार पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित पुस्पेन्द्र कोइरालाको घर भाडामा लिई ठगी गरिरहेका दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कञ्चनपुर जिल्लाको कञ्चनपुर नगरपालिका वडा नं. १२ बस्ने २६ वर्षका विवेक रेग्मी र भारतको कर्नाटक राज्य, महेश्वर जिल्ला, शान्तिनगर बस्ने ३० वर्षका मोहम्मद याशिर रहेका छन्।
उनीहरूले ‘ओएसिस टुरिजम इन्टरनेसनल’ नामको संस्था स्थापना गरी १५ जना युवायुवतीलाई समेत खटाएर अनलाइन माध्यम तथा फोनबाट ठगी धन्दा चलाइरहेका थिए। उनीहरूले विभिन्न व्यक्तिलाई सम्पर्क गरी ‘३ एन/४ डि होलिडे भौचर फिल एन्ड विन रजिस्टर एन्ड विन एश्योर्ड गिफ्ट’ लेखिएको कुपन भर्न लगाउने गरेका थिए।
यसरी एसिया र युरोपका विभिन्न देश भ्रमण गराउने प्रलोभनमा पारी कुपन भर्न लगाएर हालसम्म ३० जनाबाट नगद ९ लाख ६५ हजार रूपैयाँ ठगी गरिसकेको प्रहरीले जनाएको छ। साथै उनीहरूले १५ जना बेरोजगार युवायुवतीलाई रोजगारीको लोभ देखाएर वैधानिक काम भन्दै अवैधानिक क्रियाकलापमा संलग्न गराएका थिए।
प्रहरीले उनीहरूको डेराबाट २ थान कम्प्युटर मनिटर, ८ थान विभिन्न रजिस्टर तथा रेकर्ड बुक, ६ थान कुपन रसिद, ४ थान स्ट्याम्प छाप र विभिन्न व्यक्तिका नाममा काटिएका कुपनका अर्धकट्टी बरामद गरेको छ। प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको छ।

