अर्को सूचना जारी नभएसम्म विवरण संकलन र छानबिनका सबै काम स्थगित



काठमाडौं,३२ असार । सम्पत्ति छानबिन आयोगले आफ्नो सम्पूर्ण कामकारबाही हाललाई स्थगित गरेको छ । सर्वोच्च अदालतले सम्पत्ति विवरण संकलन र छानबिनको कार्य नगर्न अन्तरिम आदेश जारी गरेपछि आयोगले यस्तो निर्णय गरेको हो ।

आयोगले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्पत्ति विवरण संकलन र छानबिनका सबै काम स्थगित गरिएको जानकारी दिएको छ ।

सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगलाई पूर्ण इजलासबाट अर्को फैसला नआएसम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न वा पेश भएका विवरण छानबिन कार्य नगर्न आदेश दिएसँगै आयोगले कामकारबाही स्थगित गरेको हो ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासको अन्तरिम आदेशले आयोगलाई आफूखुसी अदालती आदेशको व्याख्या गर्नबाट समेत रोक लगाएको थियो ।

यसअघि आयोगले असार २९ गते अर्को सूचना निकाल्दै पूर्व न्यायाधीश, संवैधानिक निकायका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाफदेहीको पदमा रहेका राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति विवरण संकलन गरिरहेको थियो ।

सर्वोच्चको पछिल्लो आदेशसँगै अब रिटको अन्तिम फैसला नआएसम्म वा अर्को व्यवस्था नभएसम्मका लागि राजनीतिक पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति छानबिन प्रक्रिया पूर्ण रूपमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्