‘डिजिटल मिडिया सोसाइटी’सँग सञ्चार क्षेत्रको अवस्थाबारे सञ्चार मन्त्री तिमिल्सिनाको छलफल
काठमाडौँ,३० असार । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल मिडिया सञ्चालकहरूको छाता संस्था ‘डिजिटल मिडिया सोसाइटी’सँग सञ्चार क्षेत्रको वर्तमान अवस्था,चुनौती तथा आगामी नीतिगत सुधारका विषयमा छलफल गरेका छन ।

मन्त्रालयमा भएको छलफलमा सञ्चार मन्त्री डा.तिमिल्सिनाले सञ्चार जगत बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने बताउदै यस क्षेत्रका विद्यमान समस्याहरुको समाधानका लागि सरकार तयार रहेको बताएका छन । उनले पत्रकारिता क्षेत्रलाई अझ बलियो, संस्थागत, विश्वसनीय र व्यावसायिक बनाउन सञ्चार मन्त्रालय तथा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सो क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरुले त्यसमा सहयोग गर्नुपर्ने बताएका छन । साथै, पत्रकारिता जगतले आफ्नो गरिमा, विश्वसनीयता र सामाजिक दायित्व कायम राख्न जिम्मेवार अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा सञ्चार मन्त्री डा. तिमिल्सिनाले जोड दिएका छन ।
सञ्चार क्षेत्रलाई कसरी सुदृढ र मर्यादित बनाउने भन्ने विषयमा सरकारले आवश्यक नीतिगत,कानुनी तथा संस्थागत सुधारका काम अघि बढाइरहेको बताउदै उनले गलत,भ्रामक तथा नियोजित रूपमा फैलाइने गत सूचना, कृत्रिम बुद्धिमत्तामार्फत तयार गरिने नक्कली सामग्री (डीपफेक) तथा झुटा र सनसनीपूर्ण समाचारको प्रकासन एवम् प्रसारण बढिरहेको उल्लेख गर्दै सञ्चार मन्त्री डा. तिमिल्सिनाले यो अहिल सञ्चार क्षेत्रसमक्ष देखिएको सबैभन्दा गम्भीर चुनौती बनेको बताए । यस्ता चुनौतीहरूको समाधान विद्यमान नीति, कानुन र संस्थागत व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरेर खोजिने बताउदै उनले प्रभावकारी नभएका कानुनी प्रावधान पहिचान गरी आवश्यक संशोधन तथा परिमार्जन गरिने जानकारी दिएका छन । आमसञ्चार विधेयक र मिडिया काउन्सिल विधेयकको मस्यौदामाथि छलफल सुरु भइसकेको जानकारी दिदै सञ्चार मन्त्री तिमिल्सिनाले सबै सरोकारवालाको सुझावका आधारमा ती विधेयकलाई समयानुकूल र व्यावहारिक बनाइने बताएका छन ।
छलफलका क्रममा डिजिटल मिडिया सोसाइटीका पदाधिकारीहरू युवराज घिमिरे,रामकृष्ण पाैडेल,अर्जुन पन्त लगायतले प्रेस काउन्सिलको भूमिका पछिल्लो समय कमजोर बन्दै गएको टिप्पणी गर्दै सञ्चार क्षेत्रको प्रभावकारी नियमन, आत्मअनुशासन र आचारसंहिताको कार्यान्वयनलाई सुदृढ बनाउन काउन्सिललाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका छन । प्रेस काउन्सिलको कमजोर भूमिकाका कारण पत्रकार तथा सञ्चारमाध्यमको संरक्षण,नियमन र व्यावसायिक अभ्यासमा समस्या देखिएको तथा त्यसले सञ्चारमाध्यमप्रतिको सार्वजनिक विश्वाससमेत कमजोर बनाएको उनीहरुको धारणा थियो ।
डिजिटल मिडिया सोसाइटीले पत्रकारिता आचारसंहिताको प्रभावकारी पालना गराउनुपर्ने,सञ्चारमाध्यमहरूले जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्ने तथा विज्ञापन बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको सुझावसमेत दिएका छन । साे छलफलमा सञ्चार क्षेत्रको विश्वसनीयता अभिवृद्धि, डिजिटल पत्रकारिताको संस्थागत विकास, सञ्चारमाध्यमको दिगोपना तथा बदलिँदो सूचना प्रविधिसँग मेल खाने कानुनी र नीतिगत संरचना निर्माणका विषयमा समेत छलफल भएको थियो ।

