नागरिकको जीवनभन्दा ठूलो कुनै नियम,सत्ता वा पद हुन सक्दैन : राप्रपा सांसद शाही



काठमाडौं,३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले नागरिकको जीवनभन्दा ठूलो कुनै नियम,सत्ता वा पद हुन नसक्ने बताएका छन् ।

मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । सांसद शाहीले विगतमा ‘सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो’ भन्नेहरू अहिले ‘मान्छेको जीवनभन्दा नियम ठूलो भन्दै हिँडेको आरोप लगाए । उनले कुनै नागरिकको जीवन समाप्त हुने अवस्था सिर्जना गर्नु पनि अपराध भएको बताए ।

उनले भने,‘मान्छेको हत्या केवल गोली हानेर मात्र हुँदैन । कुनै नागरिकको बाँच्ने आधार खोसेर,रोजीरोटी बन्द गरेर,निराशा र पीडाको अवस्थामा पुर्याउनु कि ऊ आत्महत्या गर्न बाध्य होस्, त्यो पनि गोली हानेसरहको अपराध हो,’ उनले भने । उनले सडकमा जथाभावी पार्किङ गर्न पाउनुपर्ने माग आफूहरूले नगरेको स्पष्ट पार्दै भ्रामक प्रचार बन्द गर्न आग्रह गरे । ट्राफिक नियम उल्लंघनमा सर्वसाधारणलाई कारबाही हुने तर सिटबेल्ट नलगाई सवारी चलाउने उच्च पदस्थ व्यक्तिहरूमाथि कारबाही किन नहुने भन्दै उनले प्रश्न गरे ।

सांसद शाहीले जलनबाट पीडित गणेश नेपालीलाई अस्पताल लैजाने क्रममा अपनाइएको प्रक्रियामाथि प्रश्न उठाए । उनले गम्भीर जलन भएका बिरामीलाई एम्बुलेन्समार्फत उपचारस्थल पुर्‍याउनुपर्नेमा अपराधी जस्तो हिँडाएर लगिएको भन्दै आपत्ति जनाए । उनले समयमै उचित उपचार उपलब्ध गराइएको थियो वा थिएन, भारतमा उपचारका लागि लैजान सकिने अवस्था थियो वा थिएन भन्ने विषयमा राज्यले जवाफ दिनुपर्ने बताए । मृत्यु भइसकेको अवस्थामा विमानस्थलमा गरिएको गतिविधिबारे पनि छानबिन हुनुपर्ने उनको माग थियो ।

प्रतिक्रिया दिनुहोस्