थुलुङ दुधकोशी गाउँपालिकालाई चीनको डिङ्ग्री राज्यले दियो स्काभेटर र रोलर



सोलुखुम्बु,२९ असार। थुलुङ दुधकोशी गाउँपालिकाले चीनको डिङ्ग्री राज्यबाट रु. २ करोड १७ लाख मूल्य बराबरको स्काभेटर र रोलर प्राप्त गरेको छ। गाउँपालिकाका संस्थापक अध्यक्ष असिम राईले दुई वर्षअघि चीनको डिङ्ग्री राज्यसँग गरेको प्रस्तावका आधारमा अनुदानस्वरूप उक्त उपकरण गाउँपालिकाले प्राप्त गरेको हो।

सोमबार आयोजित हस्तान्तरण कार्यक्रममा चीनका सहायक गभर्नर Nyi Gui ले थुलुङ दुधकोशी गाउँपालिकासँगको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई दीर्घकालीन रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग जारी रहने बताउनुभयो।

तातोपानीस्थित दुई राष्ट्रको सिमानामा भएको कार्यक्रममा चिनका वैदेशिक मामिला कार्यालयका उपनिर्देशक Tu Dorले नेपाल चिन बीचको मैत्रीपुर्ण सम्बन्धको बारेमा उल्लेख गर्दै थप सहयोग र सहकार्यलाई अझ मजबुत ढंगबाट निरंतरता दिने बताउनुभयो ।संस्थापक अध्यक्ष असिम राईले लामो समयदेखि गरिएको समन्वय र प्रयासको प्रतिफलस्वरूप गाउँपालिकाले महत्वपूर्ण उपकरण प्राप्त गरेको बताउनुभयो । उहाँले आफ्नो प्रस्ताव स्वीकार गरी सहयोग गरेको प्रति डिङ्ग्री राज्यप्रति आभारी रहेको बताउदै सम्पूर्ण थुलुङ दुधकोशीबासीलाई बधाई दिनुभयो। आफू हाल सार्वजनिक पदमा नरहे पनि पदमा रहँदादेखि देखेको एउटा महत्वपूर्ण सपना साकार भएको भन्दै यसले गाउँपालिकाको विकास र सेवा प्रवाहमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यवाहक अध्यक्ष सविता राईले गाउँपालिका र नागरिकप्रति संस्थापक अध्यक्ष असिम राईको लगाव, दूरदृष्टि र निरन्तर पहलका कारण करोडौं रुपैयाँ बराबरका उपकरण प्राप्त भएको बताउँदै पहलकर्ता र सहयोग सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्राप्त स्काभेटर र रोलरलाई गाउँपालिकाको पूर्वाधार विकास, सडक निर्माण तथा विपद् व्यवस्थापनका कार्यमा प्रभावकारी रूपमा परिचालन गरिने बताउनुभयो ।

कार्यक्रममा थुलुङ दुधकोशीको तर्फबाट गाउँपालिकाका संस्थापक अध्यक्ष असिम राई, कार्यवाहक अध्यक्ष सविता राई, वडा नं. ७ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता भोजराज कार्की,प्राविधिक प्रमुख इन्जिनियर नागेन्द्र बस्नेत र शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख कुमार खड्का सहभागी हुनुहुन्थ्यो भने चीनको डिङ्ग्री राज्यका तर्फबाट सहायक गभर्नर Nyi Gui,वैदेशिक मामिला कार्यालयका उपनिर्देशक Tu Dor, वैदेशिक मामिला कार्यालयका कर्मचारी Sonam Tsering को सहभागिता रहेको थियो।

थुलुङ दुधकोशी गाउँपालिकाको तर्फबाट भने मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्