नबिल बैंकले एआईमा आधारित बैंकिङ सेवा विस्तार गर्ने
काठमाडौं,२८ असार । नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित बैंकिङ सेवा विस्तार गर्ने र ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणामार्फत वित्तीय सेवाको दायरा फराकिलो बनाउने प्रतिबद्धता जनाएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले ग्राहकको विश्वास नै बैंकको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै नबिल बैंकले विगत चार दशकदेखि नेपाली बैंकिङ क्षेत्रमा नवप्रवर्तनको नेतृत्व गर्दै आएको बताए ।
उनले नबिल बैंकले आधुनिक बैंकिङको सुरुवातदेखि डिजिटल बैंकिङसम्म विभिन्न क्षेत्रमा अग्रणी भूमिका खेलेको उल्लेख गर्दै अब एआईलाई बैंकको डिजिटल प्लेटफर्म ‘एनबैंक’को केन्द्रमा राखेर सेवा विस्तार गरिने जानकारी दिए । एआईको प्रयोगले कर्जा प्रवाह, जोखिम व्यवस्थापन, ग्राहक अनुभव, वित्तीय समावेशीकरण तथा सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने उनको भनाइ थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले १९८४ मा स्थापना भएको नबिल बैंक आज २६ लाखभन्दा बढी ग्राहकको विश्वास जित्न सफल भएको बताए । उनले बैंकलाई वित्तीय सेवा प्रदायक संस्था मात्र नभई ग्राहकको सपना र आर्थिक समृद्धिको साझेदारका रूपमा विकास गरिने उल्लेख गरे ।
बैंकले कृषि, ऊर्जा, लघु तथा मझौला उद्यम (एमएसएमई) र पर्यटन क्षेत्रमा लगानीलाई प्राथमिकता दिँदै आएको जनाएको छ । हाल कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड, एमएसएमई क्षेत्रमा ४५ अर्ब ९२ करोड तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी रहेको बैंकले जनाएको छ ।
वित्तीय अवस्थाबारे बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म बैंकको नेटवर्थ ७० अर्ब ८३ करोड रुपैयाँ, खुद नाफा ६ अर्ब ७६ करोड रुपैयाँ, निक्षेप ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ, कर्जा प्रवाह ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ तथा कुल सम्पत्ति ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म सञ्चालन हुने विशेष ग्राहक योजना पनि सार्वजनिक गरेको छ । यसअन्तर्गत हेटौँडा र वीरगञ्जका सडक विस्तारबाट प्रभावितका लागि पुनःनिर्माण घर कर्जा, लकर सुविधामा ४२ प्रतिशत छुट, इलेक्ट्रोनिक पेमेन्ट गेटवे (ईपीजी) सेवामा ५० प्रतिशतसम्म छुट तथा क्रेडिट र डेबिट कार्डमा विशेष सहुलियत उपलब्ध गराइने बैंकले जनाएको छ ।
बैंकले आगामी दिनमा डिजिटल बैंकिङ, दिगो वित्तीय सेवा र प्रविधिमैत्री नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै ग्राहककेन्द्रित सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
हाल बैंकले देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टरमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

