बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन
काठमाडौं,२७ असार । काठमाडौंको बुद्धनगरमा शनिवार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ ।

प्रहरीका अनुसार राउतले आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका थिए। घटनालगत्तै प्रहरी र स्थानीयको सहयोगमा उनको उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो।
उनी बीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत रहेका थिए । तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो । उनी श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । प्रहरीले आत्मदाहको प्रयासको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

