हत्या अभियोगमा खोटाङको दिप्रुङ चुइचुम्माबाट एकै परिवारका तीनजना पक्राउ
दिक्तेल,२७ असार । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्य भएपछि हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् ।

घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका हुन् ।
तीलकबहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने, श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
अधिकारीको मृत्युपछि तीलकबहादुर आफैले फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए । उनकी श्रीमती र छोरीविरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए ।
मुख्य आरोपित तीलकबहादुरको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न गएको समयमा अधिकारीमाथि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका आरोपीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा अन्तरगत थप अनुसन्धान भइरहेको सूचना अधिकारी बस्नेतले बताए । अधिकारीको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ ।
मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारोबार रहेको तथा मृतक अधिकारी सार्कीको घरमा पुगेको अवस्थामा विवाद हुँदा सार्कीले खुकुरी प्रहार गरेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

