आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने काठमाडौं महानगरपालिकाको घोषणा



काठमाडौँ,२७ असार । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

महानगरका प्रवक्ता, नविन मानन्धरले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति महानगर परिवार स्तब्ध भएको बताउनुभयो । मुगु जिल्ला घर भई हाल भक्तपुर बस्ने नेपालीले असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए । उपचारका क्रममा आज दिउँसो नेपालीको निधन भएको थियो । उहाँको निधनमा महानगरपालिकाले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रवक्ता मानन्धरले उक्त घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार, गृह मन्त्रालयले छानबिन समिति गठन गरेको जानकारी प्राप्त भएको र उक्त समितिलाई महानगरले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । छानबिनबाट प्राप्त हुने सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चाल्ने पनि महानगरले स्पष्ट पारेको छ ।

महानगरले आत्मदह गरेका नेपालीको परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने जनाएको छ । यस्तै, नेपालीको परिवारका सदस्यलाई रोजगारीको अवसर र उहाँका सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा कार्यपालिकाको आगामी बैठकबाट विधिमम्मत रूपमा निर्णय गरिने प्रवक्ता मानन्धरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्