मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त



काठमाडौं,२४ असार । मन्त्रिपरिषद्को बुधवारको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको छ ।

२०२७ साल ९ महिना २५ गते भोजपुरमा पिता थिरबहादुरको पुत्रका रूपमा जन्मिएका कार्की २०५३ पुस ७ गते शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए ।

२०८१ भदौ २० गते सचिवमा बढुवा भएका कार्की उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव भएर काम गरेका छन् । उनी उमेर हदका कारण २०८५ पुस २५ गते अनिवार्य अवकाशमा जानेछन् ।

अहिलेको व्यवस्था अनुसार मुख्य सचिवको कार्यकाल तीन वर्षको हुन्छ । उनी उमेर हदका कारण भने पूरा कार्यकाल काम गर्न पाउने छैनन् ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज शाक्य, काठमाडौंलाई नियुक्त गर्ने ।
२. गेटा अस्पताल, कैलालीलाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने ।
३. विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने ।
४. शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने
५. कारागार नियमावली,२०८३ स्वीकृत गर्ने ।
६. मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/०८४–२०८७/८८) स्वीकृत गर्ने ।
७. भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२ । ८३–२०८७ । ८८) स्वीकृत गर्ने ।
८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने ।

प्रतिक्रिया दिनुहोस्