एप्क्यानमा संस्थापक अध्यक्ष वस्नेत नै असन्तुष्ट, नयाँ कार्यसमिति बनाउने चेतावनी
काठमाडौं, २३ असार । शैक्षिक परामर्श व्यावसायीहरुको संगठन शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) भित्रको आन्तरिक विवाद बाहिरिएपछि संस्था नै संकटमा परेको छ । हिजोको दिनमा जतिसुकै विवाद भए पनि आन्तरिक रुपमा मिलाउने प्रयास गरेका संस्थापक अध्यक्ष प्रोज्वल वस्नेतले नयाँ अवधारणा अघि बढाएपछि संस्थाभित्रको द्वन्द्व झन् चर्किँदै गएको छ ।

वस्नेतको अगुवाइमा केही दिनअघि काठमाडौंमा एक कार्यक्रमको आयोजना गरियो । ‘विशेष साधारणसभा तथा महाधिवेशनबारे छलफल तथा वृहत भेला’ को आयोजना गर्दै वस्नेतले संस्थाले संस्थाको मूल्यमान्यता अनुसार काम गर्न नसकेकोले बाध्य भएर भेला आयोजना गर्नुपरेको बताए । उनले भेलाले नयाँ निकास दिने पनि बताएका छन् । ‘सस्थामा समस्या देखियो, समाधान गरौं भनेर पटकपटक औपचारिक र अनौपचारिक रुपमा पनि भनियो तर अहिलेको नेतृत्वले नसुनेपछि बाध्य भएर विकल्पको खोजीमा लागेका हौं’ संस्थापक अध्यक्ष वस्नेतले भने ‘संस्था भनेको सबैको साझा हुनुपर्छ तर अहिले भएकाले संस्थाको नाममा आफूलाई फाइदा हुनेमात्र काम गरे त्यसैले अभियान चलाउनुको विकल्प नदेखेर छलफल थालेका हौं ।’
वस्नेतले विशेष महाधिवेशनको लागि सम्बन्धित सरकारी निकायमा पत्राचार गरिसकेको बताएका छन् । उनले संस्थालाई दिएको ‘अल्टिमेटम’ को समय थोरै भएको भन्दै समयमै अधिवेशन नगरे आफूहरुले नयाँ कार्यसमिति बनाउने घोषणा गरेका छन् । ‘हाम्रो पक्षमा सदस्य बढी छन् त्यसैले पनि नयाँ कार्यसमिति बनाउन हामीलाई कुनै पनि कुराले रोक्दैन’ वस्नेतले भने । वर्तमान कार्यसमितिले संस्था सञ्चालनमा मनोमानी गरेको, संगठनलाई कमाउने र राजनीतिक स्वार्थ पूरा गर्ने थलो बनाएको आरोप लगाउँदै निवर्तमान पदाधिकारीहरूले विशेष साधारणसभा तथा महाधिवेशनको तयारी थालेका छन् । भेलामा वर्तमान नेतृत्वको कार्यशैलीप्रति चर्को असन्तुष्टि व्यक्त गरिएको थियो । सहभागीहरूले संस्थाको गरिमा, मूल्यमान्यता र सदस्यहरूको भावनामाथि वर्तमान नेतृत्वले बेवास्ता गरेको आरोप लगाउँदै संगठनलाई सही मार्गमा फर्काउन विशेष साधारणसभा अपरिहार्य भएको दाबी गरे ।
संस्थापक अध्यक्ष प्रज्वल बस्नेतले नेतृत्व र सदस्यहरूबीच बढ्दै गएको मनमुटाव, अविश्वास र असन्तुष्टिलाई समाधान गर्न खुला छलफलको आवश्यकता रहेको बताए । संगठनलाई थप सशक्त, पारदर्शी र सदस्यमुखी बनाउन विशेष साधारणसभामार्फत नयाँ नेतृत्व आवश्यक भएको वस्नेतको भनाई छ । संस्थासँगै असन्तुष्टि जनाउँदै संस्थाकै केही पदाधिकारीले पनि राजीनामा दिएका छन् । पूर्वकोषाध्यक्ष दिपा लामिछानेले संस्थामा देखिएको विवादलाई समाधानको अवसरका रूपमा लिनुपर्ने धारणा राखिन् । उनले सबै सदस्यका गुनासा सुनेर संगठनलाई थप एकताबद्ध र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
भेलामा सहभागी पदाधिकारीहरूले राज्यका निकायले विभिन्न शैक्षिक परामर्श संस्थामाथि गरेको अनुगमन, कारबाही र दबाबका क्रममा सदस्यहरूको वास्तविक अवस्था बुझ्नसमेत वर्तमान नेतृत्व असफल भएको आरोप लगाए । उनीहरूका अनुसार कतिपय सदस्य कारबाहीमा परेको, कतिपय कानुनी प्रक्रियामा रहेको अवस्थाबारे वर्तमान अध्यक्ष तथा पदाधिकारीहरूलाई नै थाहा नभएको पनि तर्क गरे । उनीहरूले व्यावसायीहरुमाथि सरकारबाट असहज अवस्था सिर्जना गरिँदा पनि संगठनको तर्फबाट एउटा औपचारिक विज्ञप्तिसमेत जारी गर्न नसकेको भन्दै वर्तमान नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाए । सदस्यहरूलाई अन्योलमा राख्ने र संस्थाको भविष्य नै अनिश्चित बन्ने अवस्था सिर्जना भएकाले संगठनको गरिमा जोगाउन विशेष साधारणसभा आयोजना गर्नुपरेको उनीहरूको भनाइ थियो ।
भेलामा सहभागीहरूले एप्क्यानभित्र देखिएको संकटलाई संवाद, पारदर्शिता र लोकतान्त्रिक प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै संस्थाको अस्तित्व, विश्वसनीयता र सदस्यहरूको हितलाई केन्द्रमा राखेर नयाँ नेतृत्व र नयाँ कार्यदिशा आवश्यक रहेको निष्कर्ष निकाले ।
शैक्षिक परामर्श व्यवसायीहरूको नयाँ र वैकल्पिक छविका रूपमा स्थापित गरिएको शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) भित्र चर्किएको आन्तरिक विवादका कारण संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले एप्क्यान छोडेको घोषणा गरिसकेका थिए । उनले आफूले संस्था जन्माउन र जोगाउन धेरै मिहनेत गरेको भए पनि पछिल्लो समयमा त्यहाँ बसिरहने वातावरण नभएको बताएका थिए । उनले सबै साथीहरुको आग्रहमा आफूले दिएको राजीनामा फिर्ता लिएको बताएका छन् । ‘मैले त्यतिबेला संस्था छोडेको हो तर धेरै साथीहरुले तपाइले त्यसो गर्नु हुँदैन, हामी साथमा छौं भनेपछि मैले फिर्ता लिएँ’ उनले भने ‘यहाँभित्र भएका विकृतिविरुद्ध संस्थामा नै बसेर लड्नुपर्छ र संस्थालाई बलियो बनाउन लाग्नुपर्छ भन्ने कुरा आयो ।’
संस्था बनाउन र यहाँसम्म ल्याउन मुख्य भूमिका खेलेका वस्नेतले संस्थाको हकहितका लागि सबै साथीहरु सक्रिय नभएको समेत आरोप लगाएका थिए । उनले भनेका छन्, ‘संस्था भइसकेपछि संस्थाको धर्म र मर्म अनुसार चल्नुपर्ने हो तर धेरैजसोमा व्यक्तिगत स्वार्थ हावी भयो त्यसैले गर्दा संस्था संकटमा परेको छ ।’ उनले संस्थालाई सदस्यहरूको साझा घर बनाउन खोजिएको भए पनि त्यो हुन नसकेको र गर्न नदिएको पनि भनेका छन् ।
तीन वर्षअघि स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) बाट असन्तुष्टि जनाउँदै उनीहरुले एप्क्यानको स्थापना गरेका थिए । बस्नेतका अनुसार सुरुवाती चरणमा त्यो उद्देश्यअनुसार संस्था अघि बढेको पनि थियो । साढे दुई वर्षसम्म उनले घर, परिवार, साथीभाइ र आफन्तभन्दा बढी समय संस्थामा लगानी गरेको दाबी गरेका थिए । ‘मैले संस्थाको नाममा धेरै समय दिएँ र खर्च पनि गरें तर अहिले संस्थाको यो अवस्था हुँदा मन अमिलो भएको छ’ उनले भने ‘यो संस्था सम्झिँदा मलाई निद्रा पनि लाग्दैन, परिवारको जत्तिकै माया मलाई यो संस्थाको छ ।’
संस्थालाई देशभर चिनाउने, सदस्य विस्तार गर्ने, शाखा स्थापना गर्ने, मन्त्रालय र विभिन्न शैक्षिक संस्थासम्म पहुँच पुर्याउने तथा आर्थिक रूपमा सबल बनाउने काममा आफू

