बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे खण्डमा सडक अवरुद्ध



काठमाडौं,२१ असार । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकस्थित रोशी खोला र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार रोशी खोलामा पानीको बहाव ह्वात्तै बढेपछि राजमार्गअन्तर्गत काभ्रे खण्डमा सडक अवरुद्ध भएको हो ।शनिबारदेखि नै खोलाको जलस्तर बढ्न थालेको थियो भने आइतबार अपराह्न परेको लगातारको वर्षापछि आएको बाढीले डाइभर्सन बगाएर सडकमा क्षति पुर्‍याएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बाढीका कारण सडक अवरुद्ध भएकाले सुरक्षाका दृष्टिले तत्कालका लागि सबै प्रकारका सवारीसाधन सञ्चालन रोकिएको जानकारी दिए । उनका अनुसार विशेषगरी घुम्ती र चौकीडाँडा क्षेत्रमा सडक संरचनामा क्षति पुगेपछि यातायात पूर्ण रूपमा अवरुद्ध गरिएको हो ।

राजमार्ग बन्द भएपछि काठमाडौंबाट पूर्वतर्फ जाने सवारीसाधनलाई काभ्रेभञ्ज्याङमा तथा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका सवारीसाधनलाई मंगलटार र नेपालथोक क्षेत्रमा रोकिएको छ ।

प्रशासनका अनुसार रातिको समयमा राजमार्गमा आवागमन सामान्यतया बन्द रहने भएकाले वर्षा रोकिएर सडकको अवस्था सामान्य भए सोमबार बिहानदेखि यातायात सञ्चालन गर्ने प्रयास गरिनेछ । file foto

प्रतिक्रिया दिनुहोस्