सवारीसाधनको कालो सिसा हटाउन प्रहरी प्रधान कार्यालयको सर्कुलर
काठमाडौँ,१६ असार । प्रहरी प्रधान कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सातवटै प्रदेशमा सर्कुलर गरेको छ ।

प्रदेशस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूलाई प्रहरी प्रधान कार्यालयले मंगलबार सर्कुलर गरेको हो । कार्य विभाग अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन माहाशाखाले प्रदेश कार्यालयहरूलाई त्यस्तो सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रधान कार्यालयले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पनि सर्कुलर गरेको छ । असार १५ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको गाडीमा राखिएको कालो सिसाको स्टिकर हटाएको थियो ।
गृहमन्त्री र सचिवको कालो सिसा हटाएसँगै मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव चढ्ने सरकारी गाडीको पनि कालो सिसा हटाइएको छ । मंगलबार आपूर्ति मन्त्रालयका कर्मचारीहरूले नै मन्त्री यादवको गाडीमा जडान गरिएको कालो सिसाको स्टिकर निकालेका हुन् ।
असार १४ देखी ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन सुरु गरेको थियो । पहिलो चरणमा कालो स्टिकर हटाउन थालिएको हो । कम्पनीबाट कालो सिसा जडान भएका गाडीहरूको सिसा परिवर्तन गर्नेबारे ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग छलफल गरेको छ ।

