दस अर्ब बढिको बिगो ५ लाख धरौटी !
काठमाडौं,१५ असार । विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायत ५ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ।

सामेबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा भएको थुनछेक बहसपछि उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतले राहदानी विभागका महानिर्देशक अर्याललाई पाँचलाख र निर्देशक सुनिलकुमार केसीलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ भने कर्मचारीहरू शाखा अधिकृत सोमेश थापासँग ३ लाख, कम्युटर इन्जीनियर विपिन प्रसाईंसँग ३ लाख र ठेकेदारको नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।
त्यस्तै अदालतले लेखा अधिकृत तुलसी प्रसाद आचार्य र उपसचिव राजाराम दाहाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाई प्रकरणमा भ्रष्टाचार भएको भन्दै राहदानी विभाग महानिर्देशक अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरेको थियो।

