एमालेसंग सहकार्यको वातावरण बनिसकेको छ : प्रचण्ड
बिराटनगर,१२ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग तत्कालै पार्टी एकताको सम्भावना नरहे पनि सहकार्यको वातावरण भने बनिसके बताएका छन्।

विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् र सडक दुवै मोर्चामा एमालेसँग मिलेर अघि बढ्ने बताए।उनले जतिसुकै मतभेद भए पनि कम्युनिष्ट पार्टी र आफ्नै घर बलियो बनाउनुको विकल्प नभएको बताए।‘अहिलेको परिस्थितिमा संसद्मा बलियो उपस्थिति जनाउन र सडक आन्दोलनलाई सशक्त बनाउन पनि एमालेसँगको सहकार्य अनिवार्य भइसकेको छ,’ उनले भने।
प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भएको सय दिन पनि नपुग्दै उसको वास्तविक चरित्र उदाङ्गिएको उनको भनाइ छ।वर्तमान सरकार ‘नवउदारवादी र फासिस्ट शैली’मा अगाडि बढेको आरोप लगाउँदै उनले रास्वपालाई गरिब, सुकुम्बासी, जनजाति र उत्पीडित समुदायको विरोधीको रूपमा चित्रण गरे।
रास्वपाले प्रदेश संरचना र संविधान नै खारेज गर्ने खेल खेलिरहेको दाहालको दाबी थियो। यो निरङ्कुशता र फाँसीवादका विरूद्ध लड्नका लागि साँचो अर्थमा कम्युनिष्ट बन्नु पर्ने बेला आएको उनले बताए।

