इश्वरी हत्या प्रकरण : प्रकाश भुजेलमाथि समेत अनुसन्धान गर्न माईती पक्षको माग
काठमाडौं,२४ जेठ । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापा मगरद्वारा पत्नी ईश्वरी भुजेलको हत्या गरिएको घटनामा प्रकाश भुजेलमाथि पनि अनुसन्धान हुनुपर्ने माइती पक्षले माग गरेको छ ।

घटनापछि शोकमा रहेको ईश्वरीको माइती पक्षले अब घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने आशंका व्यक्त गर्दै आफूलाई कुमार थापाका जेठान बताउने प्रकाश भुजेलमाथि पनि निष्पक्ष र गहिरो अनुसन्धानको माग गरेको हो।उनीहरूले घटनाअघि र घटनापछिका केही गतिविधि शंकास्पद देखिएको उल्लेख गर्दै सत्यतथ्य बाहिर ल्याउन सबै सम्भावित पक्षमाथि समान रूपमा छानबिन गर्न आग्रह गरेका छन् ।
मृतकका आफन्तहरूको मुख्य माग भनेको घटनाको वास्तविक सत्य सार्वजनिक होस् र दोषी जो भए पनि कानुनको दायरामा ल्याइयोस् भन्ने रहेको छ ।
यता प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार प्रमाण, तथ्य र कानुनी प्रक्रियाका आधारमा मात्रै निष्कर्ष निकालिने भएकाले सार्वजनिक रूपमा उठिरहेका सबै दाबी र आशंकाहरूको समेत अध्ययन भइरहेको छ ।
सामाजिक सञ्जालमा घटनाबारे विभिन्न चर्चा र अनुमानहरू भइरहेका भए पनि अनुसन्धान पूरा नभएसम्म कुनै पनि व्यक्तिको संलग्नता वा जिम्मेवारीबारे अन्तिम निष्कर्षमा पुग्न नमिल्ने अवस्था रहेको छ । प्रहरीले अनुसन्धान सम्पन्न भएपछि मात्रै घटनासम्बन्धी थप तथ्य सार्वजनिक हुने जनाएको छ ।

