क्रियाशील सदस्यता अद्यावधिक अभियानको अनुगमन गर्न कांग्रेसले खटायो प्रतिनिधि



काठमाडौँ,११ जेठ । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई द्रुत र प्रभावकारी बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई विशेष जिम्मेवारी दिने निर्णय गरेको छ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा तथा समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेल को अध्यक्षतामा आइतबार पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरण हुन बाँकी सदस्यहरूको सदस्यता अद्यावधिक कार्य आगामी जेठ २१ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको जनाएको छ। साथै, सबै संगठनात्मक संरचनालाई परिचालन गरी सदस्यता अद्यावधिक अभियानको अनुगमन गर्न सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाइएको छ।

निर्णयअनुसार कोशी प्रदेशमा डा. डिला संग्रौला, बागमतीमा बहादुरसिंह लामा, गण्डकीमा मुक्ताकुमारी यादव, लुम्बिनीमा अमरसिंह पुन, कर्णालीमा जानकी सिंह, मधेशमा देवराज चालिसे तथा सुदूरपश्चिममा उदयशमशेर राणालाई जिम्मेवारी दिइएको छ।
बैठकले १४ औँ महाधिवेशनका क्रममा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिबाट आधिकारिकता प्राप्त सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी विभिन्न दलबाट कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको सदस्यता सम्बन्धी समस्या समाधान गर्न विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको छ। निर्णयअनुसार बारामा डा. गोपाल दहित, सिराहामा आङ्गेलु शेर्पा, धनुषामा अब्दुल सत्तार, सप्तरीमा राजीव ढुंगाना, सोलुखुम्बुमा कुसुम थापा, सर्लाहीमा देवप्रसाद तिमिल्सिना, सुर्खेतमा तिलक रानाभाट, महोत्तरीमा प्रमोदहरि गुरागाईं, कपिलवस्तुमा टेकराज पौडेल, सुनसरीमा जगदीश नरसिंह के.सी., रौतहटमा कमलकिशोर घिमिरे, पर्सामा कृष्ण रिजाल तथा काठमाडौंमा इश्वर अधिकारीलाई जिम्मेवारी दिइएको छ।
विदेशस्थित जनसम्पर्क समितिका सम्बन्धमा पनि बैठकले विभिन्न निर्णय गरेको छ। अधिवेशन सम्पन्न गरिसकेका सात देशका जनसम्पर्क समितिलाई क्रियाशील सदस्यता अद्यावधिकका लागि अनुमति दिने तथा समस्या नरहेका १५ देशका जनसम्पर्क समितिलाई सदस्यता अद्यावधिक गरी अधिवेशनको समयतालिका केन्द्रीय कार्यालयमा पेश गर्न निर्देशन दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, १४ औँ महाधिवेशनपछि केन्द्रीय कार्यालयसँग कम सम्पर्कमा रहेका सात देशका जनसम्पर्क समितिलाई सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न परिपत्र गर्ने तथा समस्या देखिएका आठ देशका जनसम्पर्क समितिका विषयमा अध्ययन गरी समाधानका लागि आवश्यक समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा पार्टी केन्द्रीय कार्यालयका सह–सचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्