जेठ २१ गतेभित्र क्रियाशील सदस्यता अद्यावधिक गरि सक्न कांग्रेसको परिपत्र
काठमाडौँ,७ जेठ । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता प्रणालीलाई थप व्यवस्थित, चुस्त र प्रविधिमैत्री बनाउने उद्देश्यसहित देशभर सदस्यता अद्यावधिक अभियान सञ्चालन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट जारी परिपत्रमा पार्टी विधान, २०१७ (सातौँ संशोधन) तथा केन्द्रीय कार्यसमितिको २०८१ चैत ९ गतेको निर्णयअनुसार क्रियाशील सदस्यताको अभिलेखीकरण र अद्यावधिक कार्य अघि बढाइएको उल्लेख छ ।
पार्टीले हाल प्रयोगमा रहेका विभिन्न प्रविधिको माध्यमबाट सदस्यता अद्यावधिक कार्य देशभर उत्साहजनक रूपमा भइरहेको जनाएको छ । वडा सभापतिमार्फत अनलाइन वा एपमार्फत सदस्यता अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ ।
यसका लागि सम्बन्धित सदस्यले फोन, क्यूआर कोड, फेसबुक पेज तथा पार्टीको एप प्रयोग गर्न सक्ने बताइएको छ । आवश्यक जानकारी तथा सहायताका लागि पार्टीको केन्द्रीय कार्यालयस्थित डिजिटल सहायता केन्द्रमा पनि सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको परिपत्रमा उल्लेख छ ।
कांग्रेसले वडा सभापतिहरूलाई मोबाइलमा एप स्टोर वा गुगल प्ले स्टोरबाट नेपाली कांग्रेसको एप डाउनलोड गरी प्रयोग गर्न निर्देशन दिएको छ । साथै, २०८३ जेठ २१ गतेभित्र क्रियाशील सदस्यता अद्यावधिकको काम सम्पन्न गर्न आग्रह गरिएको छ ।
परिपत्रमा सदस्यता अद्यावधिक कार्यको अनुगमन सम्बन्धित पालिका कार्यसमितिले गर्ने जनाइएको छ । यस्तै, उक्त कार्यमा असहयोग गर्ने वडा सभापतिमाथि विधानअनुसार वैकल्पिक व्यवस्था गरिने चेतावनी पनि कांग्रेसले दिएको छ ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित उक्त परिपत्र जिल्ला र पालिका कार्यसमितिलाई बोधार्थ पठाइएको छ ।

