सरोकारवालासँग छलफल गरेर मात्रै होटलमा एम्आरपी लागू गर्न नेपाल उद्योग व्यापार महासंघको माग



काठमाडौं,जेठ ५ । नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) ले सरकारले हालै कार्यान्वयनमा ल्याएको एमआरपी (म्याक्सिमम रिटेल प्राइस) सम्बन्धी व्यवस्था सकारात्मक भएको बताएको छ । महासंघले होटलमा एम्आरपीसम्बन्धी व्यवस्था कायम हुन नसक्ने जनाएको छ ।
हालै काठमाडौंमा महासंघले आयोजना गरेको कार्यक्रममा व्यवसायीमाथिको धरपकड गलत भएको महासंघले जनाएको छ ।

महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदवहालीपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खिमनारायण पराजुलीले व्यवसायीमाथिको धरपकडप्रति आपत्ति जनाएका छन् ।‘सरकारका सकारात्मक कामप्रति समर्थन र गलत कार्यप्रति हाम्रो खबरदारी रहने छ, तर व्यवसायीलाई अनावश्यक रुपमा आतंकित बनाउनु राम्रो होइन’ अध्यक्ष पराजुलीले भने । अध्यक्ष पराजुलीले बजार व्यवस्थापनको नाममा व्यवसायीलाई अनावश्यक दबाब सिर्जना हुने अवस्था आउन नदिन सरकारसँग आग्रह गर्दै भने,‘गैर कानुनीरुपमा भएका गतिविधिमा नियन्त्रण गर्नु जायज भए पनि अनावश्यकरुपमा व्यवसायी तर्साउने कदमको महासंघले प्रतिवाद गर्ने छ ।’
अध्यक्ष पराजुलीले बजारमा मूल्य पारदर्शिता कायम गर्ने तथा अनियमितता नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको व्यवस्था स्वागतयोग्य भए पनि कार्यान्वयनलाई व्यवहारिक, सहज तथा व्यवसायमैत्री बनाउन आवश्यक रहेको बताए । बजार संरचना, साना तथा मझौला व्यवसायीहरूको अवस्था, उत्पादन तथा वितरण प्रणाली, भन्सार तथा कर प्रक्रियाका व्यावहारिक पक्षहरूलाई मध्यनजर गर्दै एमआरपी प्रणाली चरणबद्ध रूपमा न्यून बिजकलाई निर्मूल गरी व्यवसायीमैत्री वातावरण बनाएर मात्र सम्भव रहेको महासंघको ठहर छ ।

महासंघले एमआरपी कार्यान्वयनलाई प्रभावकारी बनाउन उद्योगी, व्यवसायीसँग परामर्श र समन्वय, साना व्यवसायीका लागि सहजीकरण र अभिमुखीकरण, कर तथा बिलिङ प्रणालीलाई सरल र स्पष्ट बनाउने व्यवस्था, डिजिटल मूल्य प्रणाली तथा ‘क्यूआर–बारकोड’ प्रणालीको विकास, स्वादेशी उद्योग तथा उत्पादनलाई सहुलियत दिनुपर्नेलगायतका सुझाव समेत दिएको छ । साथै, एमआरपीसम्बन्धी नीति कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्या समाधान गर्न सरकार र नीजि क्षेत्र तथा उपभोक्ताबीच निरन्तर संवाद र सहकार्य हुनुपर्नेमा महासंघले जोड दिएको छ ।

शैक्षिक परामर्श क्षेत्रमा सरकारले छापा मारेको विषयमा पनि महासंघले धारणा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा नवनिर्वाचित महासंघका महासचिव सूर्य थापा (बिक्रम) ले ‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ को नारा बोकेर स्थापना भएको महासंघले साना तथा मझौला उद्योगी–व्यवसायीहरूको हक, हित र अधिकारका पक्षमा निरन्तर रूपमा आवाज उठाउने बताए । महासंघका कोषाध्यक्ष आशिक कार्कीले महासंघले सधैं उद्योगी व्यवसायीको पक्षमा आवाज उठाइरहेको बताए । उनले सरकारले व्यवसायीलाई तर्साउने र धम्क्याउने काम गरेकोमा आपत्ति जनाएका छन् । ‘सरकारले गरेका राम्रा कामलाई हामी पनि सहयोग गर्छौं तर बिनाकारण व्यवसायीलाई दुःख दिने सरकारको नियत ठिक भएन’ कोषाध्यक्ष कार्कीले भने ।

गत वैशाख १९ र २० गते चितवनको गैंडाकोटमा भएको महासंघको दोस्रो राष्ट्रिय महाअधिवेशनले पराजुलीको अध्यक्षतामा ९९ केन्द्रीय समिति निर्वाचित गरेको छ । जसमा ७ जना केन्द्रीय सदस्य पछि थपिने छन् । सबै पदाधिकारी तथा केन्द्रीय सदस्य निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्