फेरि अर्को कसुरमा पक्राउ परे गोल्छा
काठमाडौं,२२ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र सम्बन्धी कसुरमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि थुनामुक्त भएका गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतबाट बाहिर निस्कन नपाउँदै बीमा सम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। यसअघि सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले धितोपत्र सम्बन्धी मुद्दामा उनलाई थुनामुक्त गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको थियो । तर अदालतले उनलाई हिरासतमा राख्ने प्रक्रियामा कानुनी त्रुटि भएको ठहर गर्दै परमादेश जारी गरेको थियो ।
अदालतले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०४ ९१० अनुसार अभियुक्त फरार हुन सक्ने वा बिगो हानी–नोक्सानी देखिएको अवस्थामा मात्र धरौटी वा जमानत माग गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको थियो । सोही कानूनी आधार पालना नगरी उनलाई हिरासतमा राख्ने निर्णय भएको भन्दै जिल्ला अदालतको आदेश बदर गरिएको थियो ।
त्यसपछि गोल्छाले धितोपत्र मुद्दामा धरौटी बुझाएर रिहा पाएका थिए। तर, रिहा हुने क्रममा नै सीआईबीले उनलाई बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

