वीपी राजमार्गमा फेरि आवागमन बन्द
काठमाडाैं,२२ बैशाख । वर्षाका कारण वीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सोमबार साँझदेखि फेरी आवागमन बन्द गराएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म सडकखण्डमा आवागमन बन्द गराएको हो । वर्षाका कारण रोशी खोलामा ठुलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने उद्देश्यले सोमबार साँझ ५ बजेदेखि आवागमन बन्द गराइएको प्रहरीले बताएकाे छ ।
राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको र अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सडक यात्रुलाई प्रहरीले अपिल समेत गरेकाे छ । वर्षाका कारण पटक पटक रोशी खोलाको बाढीले वीपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदै आएको थियाे ।
यसअघि यहि वैशाख दोस्रो साता पनि रोशी खोलाको बाढीले उक्त स्थानमा सडक अवरुद्ध बनाउँदा वीपी राजमार्ग दुई दिनपछि खुलेको थियो । कार्यालयका अनुसार सोही वर्षाले राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको रोशी क्षेत्रमा करिब चार किलोमिटर डाइझर्सन बगाएको थियाे । गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानमा सडक बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
गत वर्षको बाढी पहिरोले राग मार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको कार्यालयले जनाएको छ ।राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेश मार्ग धुलिखेल तथा काभ्रेभञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको हाे ।

