थवाङ जीप दुर्घटनामा २० जनाको मृत्यु,विस्तृत विवरण आउन बाँकी
काठमाडौँ,१७ बैशाख । रोल्पाको थवाङ गाउँपालिका-१ को जलजला जाने बाटोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । प्रहरीका अनुसार घटनास्थलमा नै २० जनाको मृत्यु भएको हो ।

रुकुमबाट जलजलामा मेला भर्न गएका यात्रुहरु चढेको जीप दुर्घटनामा परेको थियो ।
जीप सडकबाट करिब ८ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय थवाङका प्रहरी निरीक्षक रामचन्द्र बगालेले जानकारी दिनुभएको छ । थप उद्दार कार्य भइरहेको र मृतकको सनाखत गर्ने काम पनि भइरहेको उहाँको भनाइ छ ।
पानी परेको हुनाले उद्दार कार्यमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक बगालेले बताउनुभयो । जीपमा कति जना यात्रु थिए भन्ने अझै एकिन भएको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

