विश्व शान्तिको लागि बुद्धजयन्तीको अवसरमा साईकल यात्रा गर्दै श्याल्पा रिन्पोछे



काठमाडौं,१४ बैशाख । बुद्धजयन्तीको अवसर पारेर विश्व शान्तिको लागि साईकल यात्रा आयोजना हुने भएको छ ।

हाल विभिन्न देशहरुमा भईरहेको युद्ध तथा गोलाबारीविरुद्ध विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले काठमाडौं महाकाल तथा लुम्बिनीस्थित महासिद्ध पिस स्यान्क्युअरी ‘द युनिभर्सल पीस स्यान्क्युअरी’ ले २०८३ वैशाख १५ देखि चारदिने विशेष साइकल यात्रा आयोजना गरेको हो । यसबारेमा जानकारी दिन आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा श्याल्पा रिन्पोछेले यो यात्रा केवल साइकल र्यालीमात्र नभएको बताए । उनले यो यात्राको सन्देश धेरै महत्वपूर्ण भएकाले त्यसको प्रचारप्रसार गर्न पत्रकारहरुलाई आग्रह गरे । ‘शान्तिका लागि साइकल यात्रा’ भन्ने मुल नारा बनाइएको यस अभियानमा १ सय ८ जना साइकलयात्री सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसका लागि सबै तयारी पूरा भईसकेको सुप्रसिद्ध श्याल्पा रिन्पोछले बताए । उनले सहभागी हुन चाहनेलाई नाम समावेश गर्न पनि अनुरोध गरेका छन् । उनले काठमाडौंको स्वयम्भुबाट साइकलयात्राको औपचारिक उद्घाटन वैशाख १५ गते हुने पनि बताए । लुम्बिनीमा औपचारिक कार्यक्रम हुने बताइएको छ ।

लुम्बिनीमा यात्रा मार्ग काठमाडौं → हेटौंडा → नारायणघाट → कावासोती → दाउन्ने → भैरहवा → लुम्बिनीसम्म पुग्ने जानकारी दिइएको छ । विश्वका विभिन्न भागमा जारी युद्ध र द्वन्द्वको सन्दर्भमा करुणा, अहिंसा र शान्तिको सन्देश फैलाउँदै मानव कल्याण, अहिंसा, सहअस्तित्व स्थापित गर्ने उद्देश्यले यो यात्रा आयोजना गरिएको रिन्पोछले बताए ।

बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा मायादेबी मन्दिर दर्शन, बोधिवृक्षमुनि ध्यान, विश्व शान्तिका लागि विशेष प्रार्थना, दीप प्रज्वलन, अर्काे दिन ध्यान कार्यक्रमका साथै श्याल्पो तेन्जिन रिम्पोछेद्वारा लिखित पुस्तक ‘द पाथ टु पर्फेक्ट फ्रिडम’ को नेपाली अनुवाद ‘पूर्णमुक्तिको मार्ग’ विमोचन गर्ने कार्यक्रम रहेको पनि पत्रकार सम्मेलनमा जनाइएको छ ।

श्याल्पा रिन्पोछेले ४० औं वर्षदखि युनाइटेड नेसन, वल्र्ड इकोनोमिक फोरम, ह्वाइट हाउसजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा बुद्ध, लुम्बिनी र विश्वशान्तिको सन्देश प्रवाह गर्दै आएका छन् । यात्रामा सहभागी हुनका लागि २५ सय रजिष्ट्रेशन शुल्क लाग्ने छ भने आयोजकले खाना, बस्न, टिसर्ट उपलब्ध, मेडिकलका साथै आवश्यक सम्पूर्ण व्यवस्थापन गर्ने छ । रिन्पोछेले यो अभियानमा नेपाल पर्यटन बोर्ड र एनसेललगायतका संस्थाले पनि समन्वय गरेको जनाए ।
पत्रकार सम्मेलनको समन्वय र कार्यक्रममा सहजीकरण महासिद्ध पिस स्यान्क्युअरीका शुभेच्छुक राजु बस्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्