राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पोखरेलले मागे माफी
काठमाडौँ,१२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले माफी मागेका छन्। आफूलाई स्वागत गर्न नआएको भन्दै ओखलढुंगामा विद्यालयका प्रधानाध्यापकलाई थर्काएको भिडियो भाईरल भएसंगै उनले शनिबार विज्ञप्ति जारी गर्दै क्षमायाचना गरेका हुन्।

उनले आफूलाई स्वागत गर्न नआएको भन्दै ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई हप्काएको भिडियो शुक्रबार सार्बजनिक भएको थियो। उक्त घटनाको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ।
सांसद पोखरेलले भिडियो काँटछाँट गरेर सार्वजनिक गरिँदा घटनाको वास्तविकता विकृत भएको जिकिर गरेका छन्। उनले भनेका छन्, ‘सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु। यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो। त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचना गर्दछु।’
उनी भन्छन्, ‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काँटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ। कहिलेकाहीँ सम्पूर्ण सन्दर्भ नआउँदा केही क्षणले मात्र परिस्थितिलाई गलत रूपमा चित्रण गर्न सक्छन्। त्यसरी तथ्य र सन्दर्भ अपूर्ण रूपमा प्रस्तुत भई विवाद सिर्जना भएकोमा म खेद प्रकट गर्दछु।’

