खुर्कोट प्रहरी हिरासतमा एक युवाको मृत्यु



सिन्धुली,८ बैशाख । खुर्कोट प्रहरी हिरासतमा रहेका सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको छ । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका बिकले थुनुवा कक्षमा एक्लै रहेका बेला आत्महत्या गरेको प्रहरीको भनाई छ ।

श्रीकृष्णले आत्महत्याको प्रयास गरेको प्रहरीले हिजो साँझ ६ बजे तिर पत्तो पाएको जनाएको छ । त्यसपछि तत्काल उनलाई सुनकोसी सामुदायिक अस्पताल लगिएको थियो । त्यहाँबाट उनलाई सिन्धुली अस्पताल लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए ।

श्रीकृष्णलाई अस्पताल पुर्‍याएलगत्तै साँझ परिवारलाई जानकारी गराइएको प्रहरीको भनाइ छ । मृतकको शव सिन्धुली अस्पतालमा राखिएको छ । मृतकका परिवार घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय खुर्कोट पुगेका छन् । प्रहरीको लापरबाहीका कारण श्रीकृष्णको मृत्यु भएको परिवारको आरोप छ ।

काठमाडौंमा बस्दै सवारी चालकको काम गर्दै आएका विकले खोटाङ निवासी एक युवतीसँग गत चैत २८ गते प्रेम विवाह गरेका थिए । युवती १७ वर्षकी बालिका भएको भन्दै युवतीका परिवारले काठमाडौं प्रहरीमा जबरजस्ती करणीको उजुरी दिएपछि श्रीकृष्णलाई काठमाडौंमा पक्राउ गरी खुर्कोट प्रहरीको जिम्मा लगाइएको थियो। उनी गत शुक्रबारदेखि खुर्कोट प्रहरी हिरासतमा रहेका थिए । उमेर नपुगेको भने पनि उजुरीको मुख्य कारण अन्तरजातीय विवाह भएको विकका परिवारको भनाइ छ । (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्