हिमाल आरोहण अनुमतिबाट ७५ करोड ५८ लाख रुपैयाँ बराबर रोयल्टी संकलन



काठमाडौं,२ वैशाख । वसन्त ऋतुमा हिमाल आरोहण गर्न अनुमति लिने आरोहीबाट पर्यटन विभागले बुधबारसम्म ७५ करोड ५८ लाख रुपैयाँ बराबर रोयल्टी संकलन गरेको छ ।

८५ समूहका ७ सय आरोहीले अनुमति लिएकोमा सबैभन्दा बढी सगरमाथा सगरमाथाबाट मात्र ६५ करोड २६ लाख रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ । बिभागका अनुसार यस सिजनका लागि सर्वाधिक अनुमति सर्वोच्च शिखर सगरमाथाका लागि आएको छ । सगरमाथाका लागि कुल ३० समूहका २ सय ९७ आरोहीले अनुमति लिएका छन् । जसमा ६३ महिला छन् यसैगरी,,अमादब्लम आरोहण गर्न ६ समूहका ७० जनाले अनुमति लिएका छन् ।

त्यस्तै मकालु प्रथममा ८ समूहका ५४ जनाले अनुमति लिएको विभागको तथ्यांक छ । कञ्चनजंघामा २ समूहका २२ आरोहीले अनुमति लिएका छन् ।

यस सिजनका लागि कुल २५ हिमालमा अनुमति जारी भएको देखिएको छ । जसमा ८ हजार मिटरमाथिका अधिकांश हिमाल चढ्न अनुमति जारी भएको विभागको तथ्यांक छ ।

यस सिजनमा जारी अनुमतिमध्ये धेरैजसो आरोही चीन, युरोप र अमेरिकाबाट आएका छन् । चीनका ८९, अमेरिका ७१, जर्मनी ५५, भारत ४९, बेलायत ४८, रुस ४५ र क्यानडाका ३० आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्