देश फर्किएर देउवा दम्पतीले कानुनी प्रक्रियालाई सघाउनु पर्छ : उपसभापति शर्मा



काठमाडौं, २७ चैत । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवा स्वदेश फर्किएर कानुनी प्रक्रियालाई सहयोग पुर्‍याउनुपर्छ भन्ने पार्टीको धारणा रहेको बताएका छन्।

आज पोखरामा गण्डकी प्रदेशस्तरीय चुनावी समीक्षामा बोल्दै उपसभापति शर्माले कुनै पनि आग्रह वा पूर्वाग्रह नराखेर देउवा दम्पतीमाथि अनुसन्धान गर्न सरकारलाई आग्रह पनि गरेका छन्।

‘पार्टीका साथीहरू र पत्रकार मित्रहरू सोध्नुहुन्छ- देउवा दम्पतीको मुद्दाबारे कांग्रेसको धारणा के हो? म स्पष्ट गर्न चाहन्छु- हामीले विगतदेखि स्थापित गरेको मान्यताको जगमा हाम्रो धारणा साथीहरूले, मिडियाले र देशले बुझ्नुपर्छ, यसबारे हाम्रो दुई आग्रह छ,’ उनले भने, ‘पहिलो- देश फर्किएर कानुनी प्रक्रियालाई सघाउन निवर्तमान सभापति शेरबहादुर देउवा र आरजु देउवालाई पार्टीको सुझाव छ। उहाँहरू समक्ष पार्टीको यो सन्देश हामीले पठाइ सकेका छौं। दोस्रो- कुनै पनि पूर्वाग्रह नराखेर अनुसन्धान र व्यवहार गर्न सरकारलाई कांग्रेसको आग्रह छl’

देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा हालै पक्राउ पुर्जी जारी भएको थियो। उनीहरू उपचारका सिलसिलामा विदेशमा छन्।

प्रतिक्रिया दिनुहोस्