कर्मचारी कुटपिटको आरोपमा सिरहा नगरपालिकाका मेयर यादवविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौँ,२६ चैत । सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध कार्यालय सहयोगीलाई कुटपिट गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ। नगरपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यकक्षमै हातपात भएपछि प्रहरीले मेयर यादवविरुद्ध कानूनी प्रक्रिया अघि बढाएको हो।

घटना विवरण अनुसार, गत सोमबार बिहान करिब ९ बजे हाजिरी गर्ने क्रममा ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवमाथि मेयर यादवले गालीगलौज गर्दै लात र मुक्का प्रहार गरेका थिए। मेयरको कुटपिटबाट घाइते भएका रामशरणको शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै हड्डी समेत भाँचिएको छ। उनको हाल विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ।

पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले मेयर यादवविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरेको छ। जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिइएको र मेयरको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले बताए। सोही घटनामा संलग्न रहेको आरोपमा नगरपालिकाका अर्का कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले यसअघि नै नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्