सम्पत्ति सम्बन्धि प्रचारबाजी भ्रामक र झुटा : पूर्व प्रधानमन्त्री देउवा



काठमाडौँ,२५ चैत । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सरकारले अघि बढाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा बोलेका छन् ।

सम्पत्तिसम्बन्धी विषयमा प्रचारबाजीलाई उनले ‘भ्रामक र झुटा भनेका छन् ।

देउवाले बुधबार साँझ फेसबुकमा नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको उल्लेख गरेका छन् । ‘म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन् ।

देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायपालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि आफूले सिंगो जीवन संघर्षमै व्यथित गरेको देउवाले बताएका छन् । आफ्नो जीवन एउटा खुला पुस्तकका रुपमा रहेको उनको भनाइ छ ।

बरु भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन कायम गर्न २०४८ सालमा गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू गर्न आफूले अग्रसरता लिएको उनले पोस्टमार्फत स्मरण गराए ।

हाल आफू स्वास्थ्य उपचारका निम्ति विदेशमा रहेको र अझै उपचार क्रम जारी रहेको जानकारी गराउँदै देउवाले वास्तविकता समयक्रमसँगै खुल्दै जाने लेखेका छन् । अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न उनको अपिल छ ।

सरकारले देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण प्रक्रिया सुरु गरेपछि सामाजिक सञ्जालमार्फत उनको धारणा आएको हो ।

प्रतिक्रिया दिनुहोस्