महाधिवेशनमा भाग लिन कांग्रेस आईडी अनिवार्य



काठमाडौं,२१ चैत । नेपाली कांग्रेसले पुरानो क्रियाशील सदस्यता वैशाखभित्र अनिवार्य अद्यावधिक गर्न आग्रह गरेको छ ।

सदस्यता प्राप्त भएको सम्बन्धित वडाबाटै क्रियाशील सदस्यता अद्यावधिक गराउन कांग्रेसले भनेको हो ।

वैशाखभित्र पुरानो क्रियाशील सदस्यता अद्यावधिक नगराउने व्यक्ति १५ औँ महाधिवेशनमा भाग लिन नपाउने महामन्त्री प्रदीप पौडेलले बताए । ”वैशाखभित्र सम्बन्धित वडाबाटै सबैले क्रियाशील सदस्यता अद्यावधिक गराउनुपर्छ ।अद्यावधिक गराउने बित्तिकै कांग्रेस आईडी बन्छ । कांग्रेस आईडी नबन्ने व्यक्ति महाधिवेशनमा भाग लिन पाउँदैन,” महामन्त्री पौडेलले भने ।

कांग्रेसले महाधिवेशनका लागि ७७ जिल्लामा खटिन लागेका केन्द्रीय नेताहरूलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ । पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खटाउँदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रतिनिधि अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको तयारीसँगै ‘जरा अभियान’ सञ्चालन गरिएको जानकारी दिए।

उनका अनुसार ७७ वटै जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर जिल्लामा बसेर सदस्यता वितरण, अद्यावधिक र सांगठनिक अवस्थाको प्रतिवेदन तयार पार्नेछन्।

प्रतिक्रिया दिनुहोस्