प्रतिनिधि सभाको अर्को बैठक २२ गते बस्ने



काठमाडौं,१९ चैत । प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ् । दोस्रो बैठक चैत २२ गते आइतबार ११ बजे बस्ने गरी प्रतिनिधि सभाको आज बसेको पहिलो बैठक स्थगित गरिएको सभाध्यक्ष अर्जुननरसिंह केसीले जानकारी दिए ।

प्रतिनिधि सभाको आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले आफ्नो धारणा व्यक्त गरेका थिए।बैठकमा रास्वपा सभापति रवि लामिछाने,नेपाली कांग्रेसका भीष्मराज आङ्दम्बे,नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल,नेकपाका बर्षामान पुन,राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सम्बोधन गरेका थिए।

सोही बैठकको नियमित कार्यसूचीअन्तर्गत गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका छन् ।उनले ‘नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन् ।

नेपालको संविधानको धारा ८४ को उपधारा (२) बमोजिम समानुपातिकको बन्द सूचीमा समावेश गराउनुपर्ने जनसङ्ख्याको आरक्षणका लागि अध्यादेशबाट कानुन संशोधन गरिएको थियो ।

गत फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएपछि सोका लागि मतदाता नामावली अध्यावधिकको प्रयोजनका लागि अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याएको थियो ।

गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयअन्तर्गतबाट गृह मन्त्रालयअन्तगर्त राख्न ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी भएको जानकारी गराए ।
बैठकले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहराको विभिन्न समयमा भएको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्