नेपाल प्रहरीका सई र अदालतका कर्मचारी घुससहित पक्राउ
काठमाडौं,१७ चैत । प्रहरी वृत्त मालिगाउँ, काठमाडौँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई)लाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मालिगाउँमा कार्यरत ३५ वर्षीय सई दिनेश राउत छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाउन सहजिकरण गरिदएबापत उनले २० हजार रकम लिएको अख्तियारले जनाएको छ ।

उनलाई काठमाडौं महानगरपालिका–५ गहनापोखरी स्थित ग्रिन क्याफेबाट मंगलबार सेवाग्राहिसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका एक अधिकृतले बताए ।
उता,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार स्टिङ अपरेसन सञ्चालन गरी जिल्ला अदालत गौरका एक कर्मचारीलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ।पक्राउ पर्नेमा लवकुमार सिंह रहेको आयोगले जनाएको छ। रौतहटको बसन्तपट्टि निवासी सिंह जिल्ला अदालत गौरमा करारमा डिठ्ठा पदमा कार्यरत थिए।
आयोगका अनुसार सिंहले अदालतको फैसलाबमोजिम जग्गा फुकुवा गराइदिने (दा.खा. पुर्जी गर्ने) कार्यका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेका थिए। प्राप्त उजुरीका आधारमा हेटौडाबाट खटिएको अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।
उनीलाई गौर नगरपालिका–१ स्थित रौतहट जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

