इन्धन बचत गर्न श्रीलंकामा हप्तामा तीन दिन बिदा
एजेन्सी,३ चैत । इरानसँग अमेरिका र इजरायलबीच जारी युद्धका कारण सम्भावित इन्धन अभावलाई मध्यनजर गर्दै श्रीलङ्का सरकारले इन्धन बचत गर्न हप्तामा तीन दिन बिदा दिने निर्णय गरेको छ।

राष्ट्रपति अनुर कुमार दिशानायकले वरिष्ठ अधिकारीहरूसँगको आपतकालीन बैठकपछि यस्तो निर्णय गरिएको बताएका हुन्। “हामीले सबैभन्दा खराब अवस्थाका लागि तयारी गर्नुपर्छ, तर राम्रो हुने आशा पनि राख्नुपर्छ,” उनले भने।‘स्ट्रेट अफ होर्मुज’ अवरुद्ध हुँदा तेल आपूर्तिमा समस्या आउन सक्ने भएपछि श्रीलङ्काले यस्तो कदम चालेको हो। उक्त समुद्री मार्ग खाडी क्षेत्रबाट पेट्रोलियम पदार्थ आयात गर्ने मुख्य नाका हो, जहाँ हाल तनाव बढेको छ।
सरकारले प्रत्येक बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसले शैक्षिक संस्थाहरूमा समेत लागू हुनेछ, तर स्वास्थ्य, अध्यागमनलगायत अत्यावश्यक सेवामा भने लागू नहुने अधिकारीहरूले जनाएका छन्।
सरकारी कार्यालयहरू लगातार तीन दिन बन्द नहोस् भन्ने उद्देश्यले शुक्रवारको सट्टा बुधवार बिदा दिने व्यवस्था गरिएको छ।
यसैसँगै श्रीलङ्काले सवारीसाधनका लागि इन्धन कोटा प्रणाली पनि लागू गरेको छ। अब निजी सवारीसाधनले सीमित मात्रामा इन्धन पाउनेछन्। हाल निजी कारका लागि १५ लिटर र मोटरसाइकलका लागि ५ लिटरको सीमा तोकिएको छ, जसलाई लिएर सर्वसाधारणबाट गुनासो आउन थालेको छ।
यसअघि सन् २०२२ मा आर्थिक संकटका बेला पनि श्रीलङ्काले यस्तो कोटा प्रणाली लागू गरेको थियो।
इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि होर्मुज नाकामा तनाव बढ्दै गएको छ, जसले विश्व बजारमा तेलको मूल्य वृद्धि गराएको छ। यसको प्रभाव एशियाली देशहरूमा प्रत्यक्ष देखिन थालेको छ।
ऊर्जा संकटसँग जुध्न अन्य एशियाली देशहरूले पनि विभिन्न उपाय अपनाएका छन्। थाइल्याण्डमा एअर कन्डिसनको प्रयोग घटाउन र हलुका कपडा लगाउन आग्रह गरिएको छ भने म्यान्मारमा सवारीसाधनहरूलाई दिन बिराएर सञ्चालन गर्न नियम लागू गरिएको छ।
त्यस्तै बंगलादेशमा विद्युत कटौती र शैक्षिक बिदा, फिलिपिन्समा घरबाटै काम गर्ने व्यवस्था तथा भियतनाममा सार्वजनिक यातायात प्रयोग गर्न प्रोत्साहनजस्ता कदम चालिएका छन्।
विशेषज्ञहरूका अनुसार होर्मुज नाकाको अवस्थाले अझ बिग्रँदै गए एशिया मात्र नभई विश्वभर ऊर्जा संकट गहिरिने खतरा रहेको छ।

