एमाले सचिवालय बैठकले गर्यो समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस
काठमाडौँ,३० फागुन । नेकपा (एमाले)ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समानुपातिक उम्मेदवारको टुङ्गो लगाएको हो ।

पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णयहरू सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिएका छन् । उनले आदिवासी जनजातितर्फ भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरुष) र कुलभक्त शाक्य (पुरुष) को नाम सिफारिस गरिएको जनाकारी दिए ।
त्यस्तै खस आर्यतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरुप्रसाद बराल (पुरुष), पुष्पराज कँडेल (पुरुष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसमेत) रहेका छन् । थारुतर्फ कृपाराम राणा रहेका छन् भने दलिततर्फ विष्णुमाया विक र निता घतानीको नाम सिफारिस भएको छ ।
त्यस्तै, मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल (पुरुष) रहेका छन् । मुस्लिमतर्फ साजिदा सिद्धिकी रहेका उपमहासचिव भट्टले बताए ।
उनले भने, ‘आज सचिवालयको चौथो बैठक हाम्रो उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बस्यो र अध्यक्षलाई पितृ शोक भएको कारणले अध्यक्ष त्यहाँ अध्यक्षता गर्नुभएन र त्यहाँ दुई वटा प्रस्ताव थियो । एउटा समानुपातिकको निर्णय र दोस्रो शोक प्रस्ताव र समानुपातिकको निर्णय क्लस्टर अनुसार अब सिफारिस भएको छ । बैठकले १६ जनाको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय भएको छ ।’

