४९ औं बर्षे यात्रामा हामी

४८ बर्षे यात्रा पूरा गरि आजदेखि हामी ४९ औं बर्षमा प्रवेश गरेका छौं।आधा शताब्दी पुग्न एक बर्षमात्र बांकी हाम्रो यात्रा त्यत्तिकै यहाँसम्म आइपुगेको छैन।यो यात्राका क्रममा हामीले अनेकौं आरोह- अवरोह पार गरेका छौं।विभिन्न हण्डर र ठक्करका ठेलिका ठेली अनुभवहरु हामीसँग छन। चुनौतीपूर्ण यति लामो यात्राका क्रममा जति नै कठिनाइ भोग्नु परे पनि आमपाठक,बिज्ञापनदाता,शुभेच्छुक र शुभचिन्तकहरुको अटुट माया र निरन्तरको सहयोगले हामीलाई अगाडि बढ्न प्रेरित गरिरहेको छ। हाम्रो यो सफलताको हकदार वँहाहरु सबैलाई हृदयदेखि नै सम्मान र अभिनन्दन गर्नु श्रेयष्कर हुनेछ ।

प्रबिधिको बिकाससंगै भित्रिएका विद्युतीय सन्चारमाध्यमका कारण छापा पत्रकारिता गर्नु निकै कठिन र चुनौतीपूर्ण बन्दै गएको बर्तमान अवस्थामा हामी ४९औं बर्षगांठ मनाइरहेका छौं।त्यसमाथि पनि बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (covid-19)को ताण्डबले अन्य क्षेत्र जस्तै पत्रकारिता जगत पनि उठनै नसक्ने गरि थिलथिलो बन्न पुगेको छ।
कोरोना भाइरस संक्रमणले आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्याएको बिश्वब्यापी क्षतिको दुष्परिणाम पत्रकारिता जगतले पनि ब्यहोर्नु आश्चर्यको बिषय होइन।यसकै परिणामस्वरुप स्थापित र ठुला भनिएका सन्चारगृहले समेत आफ्ना छापा संस्करणहरु धमाधम बन्द गरिरहेका छन।अहिलेको अवस्थामा छापा माध्यमलाई निरन्तरता दिनुभनेको बिना अक्सिजन सगरमाथा आरोहण गर्नु जत्तिकै कठिन बिषय हो।
यद्यपि हाम्रा सामुन्ने उपस्थित भीमकाय चुनौतीहरुको पर्खाललाई भत्काएरै पनि हाम्रो यात्रा निरन्तर अगाडि बढ्ने कुरामा कुनै शंका छैन। राष्ट्र,राष्ट्रियता, राष्ट्रिय अखण्डताको रक्षा र सुशासनका लागि निरन्तर खबरदारी हाम्रो मुल दायित्व हो।
पत्रकार आचारसंहिताको पुर्ण पालनासहित सत्य,तथ्य र निष्पक्ष समाचार प्रबाहित गर्ने क्रममा आइलाग्ने जुनसुकै राजनीतिक प्रतिशोध र पूर्बाग्रह हाम्रा लागि स्वीकार्य छन।त्यसको निरन्तर सामना गर्दै संस्थापक प्रकाशक/सम्पादक स्वर्गीय मुरारी प्रसाद गौतमले रहस्य साप्ताहिकलाई निरन्तरता दिएको हाम्रो स्मरणमा ताजै छ।

नेपाली पत्रकारिता जगतमा यति लामो यात्रा तय गर्ने साप्ताहिक पत्रिकाहरु बिरलै छन।सिमित स्रोत र साधनबाट संचालित साना लगानीका पत्रपत्रिकाहरुलाइ निरन्तरता दिन पटक्कै सजिलो छैन। तर रहस्य साप्ताहिकले आफ्नो अनलाइन संस्करणका रुपमा गत फाल्गुनबाट www.rahashyakhabar. com पनि सन्चालनमा ल्याएको छ।
लोकतन्त्रका नाममा भइ रहेको निषेधको राजनीति र मनपरीतन्त्र तथा शून्य सहनशीलताको नाराभित्र मौलाइरहेको भ्रष्टाचारअन्त्यका लागि निरन्तरको खबरदारी अहिले हाम्रो प्राथमिकताका बिषय हुन।राजनीति भित्रका यी बिकृत पक्षको समूल अन्त्य भएर मुलुकमा पूर्ण कानुनी शासनको प्रत्याभूत नभएसम्म मुलुक आर्थिक रुपमा समृद्ध बन्न सम्भव छैन।
‘समृद्ध नेपाल,सुखी नेपाली’को सरकारी नारा आम नेपालीको सपना हो।तर अहिलेकै बाटो हिंडेर त्यो सपना पूरा गर्छु भन्नु कांशी जानु कुतिको बाटो भने जस्तो मात्रै हुन्छ।तसर्थ अहिलेको हाम्रो पत्रकारिता यसबिरुद्द केन्द्रित हुनुपर्छ। त्यसमा हामी प्रतिबद्ध छौं।

