राप्रपामा अध्यक्ष लिङदेनको विकल्प खोज्नुपर्ने वरिष्ठ उपाध्यक्ष पाण्डेको मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेले पार्टी र संगठनलाई सुदृढ गर्न सक्ने असल नेतृत्व आवश्यक भएको बताएका छन् ।

देश र जनताप्रति समर्पित,पार्टी र संठनलाई सुदृढ र व्यवस्थित गर्न असल नेतृत्व समयको माग भएको राप्रपाका वरिष्ठ उपाध्यक्ष पाण्डेको भनाइ छ ।
‘गहिरो मुल्याङ्कन गरेर पार्टी र नेतृत्वको विकासमा निरन्तर जोड दिनसक्ने नेतृत्वको आवश्यकता रहेको वर्तमान परिवेशले देखाएको छ,’पाण्डेले बिहीबार सामाजिक संजालमार्फत धारणा सार्वजनिक गर्दै भने ।
देश र जनताप्रति समर्पित,नेता तथा कार्यकर्ताको जीवनशैली तथा कार्यशैली रूपान्तरण गर्न सक्ने नेतृत्व आवश्यक भएको पाण्डेको जोड थियो ।
राप्रपा दिशाहीन भएको, संगठन निर्माणभन्दा अध्यक्ष राजेन्द्र लिङ्देनको ध्यान विदेश भ्रमण, नाचगान, कविता र सिनेमामा बढी देखिएको भन्ने पार्टीभित्र र बाहिर आलोचना र चर्चा जारी रहेको समयमा नेता पाण्डेको यस्तो भनाइ सार्वजनिक हुनु अर्थपूर्ण मानिएको छ ।
राजसंस्था र हिन्दू अधिराज्य प्राप्तिमा लिङ्देन गम्भीर नदेखिएको, पार्टीका यूवा कार्यकर्तालाई ‘केटा’ र ‘दास’ भनेर मानमर्दन गरेको, सामाजिक संजालमार्फत आलोचकलाई ‘तर्साएर आलोकाँचोपन र मण्डले प्रवृत्ति’ देखाएको भन्ने पछिल्लो समय लिङ्देनमाथि आरोप छ ।

