वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाउनेतर्फ काम गर्दैछौं : शिक्षा मन्त्री भट्टराई

काठमाडौँ।शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाउनेतर्फ मन्त्रालयले काम थालेको बताउनुभएको छ।

बिहीबार मन्त्रालयले आयोजना गरेको रुसमा अध्ययन गर्न जाने विद्यार्थी र अभिभावकसँगको अन्तरकृयामा मन्त्री भट्टराईले वैदेशिक अध्ययनको सवालमा देशमा गुणस्तरीय उच्च शिक्षा वातावरण निर्माणमा भएका नीतिगत नियमहरूको प्रभावकारी कार्यान्वयन सहित आवश्यक नयाँ ऐन र कानूनको पहिचान गरेर कार्ययोजना बनाउन लागिएको जानकारी दिनुभएको हो।
रुससहितका देशमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूलाई पूर्व जानकारी र सचेतना प्रदान गरेर मात्रै अध्ययन अनुमतिपत्र जारी गर्ने लगायतका विषयमा मन्त्रालयको ध्यान आकर्षित गरिएको उल्लेख गर्नुभयो।
नेपाली विद्यार्थी मात्र होइन, विदेशका विद्यार्थी पनि नेपालमा अध्ययनका लागि आउने वातावरण निर्माण गर्न मन्त्रालय तयारीमा जुटिरहेको बताउँदै मन्त्री भट्टराईले वैदेशिक शिक्षालाई विशेषीकृत गर्ने खाका तयार गरिने जनाउनुभयो।
कार्यक्रममा प्राप्त सुझावहरूलाई समेटेर आवश्यक नीति र नियम निर्माण गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता भट्टराईले व्यक्त गर्नुभयो।
अन्तर्कृया कार्यक्रममा रुसमा वैदेशिक अध्ययन गर्न जाने विद्यार्थी र तिनका अभिभावकहरूले सो सम्बन्धी विभिन्न सुझाव प्रदान गरेको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले उल्लेख गरेको छ।

